खाँदबारीमा बृहत वङ कार्यक्रम हुने



१७ पुस २०७५, संखुवासभा/मेघराज तामाङ

संखुवासभाको खाँदबारीमा माघ २ गते देखि माघ ७ गते सम्म बृहत वङ कार्यक्रम हुने भएको छ । उर्गेन छ्योलिङ गुम्बाले आइतबार खाँदबारीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

वङ कार्यक्रममा सोलुखुम्बुका बौद्ध धर्मगुरु ज्याल्सा रिन्पोक्षेले लामा गुरुहरुलाई विभिन्न ४ वटा छ्योहिहरुको वङ दिने भएको छ । वङको पहिलो दिन अर्थात माघ २ गते रिन्पोक्षेको सवारी तथा दर्शन, ३ गते कोन्छ्योगचिदु, ४ गते चोओथुजे छेन्पो, ५ गते साङ्वा मेज्युङ, ६ गते होपाग्मे र ७ गते सम्पूर्ण भक्तजनहरुलाई छेवङ र कार्यक्रम समापन हुने कार्यक्रम संयोजक मोहन तामाङले जानकारी दिए ।

जिल्लामा थुप्रै लामा गुरुहरु भएपनि वङ ग्रहण गर्न नपाउँदा समस्यामा परेको गुम्बाका अध्यक्ष हस्त बहादुर तामाङले बताए । वङ थाप्न टाढा जानु पर्ने र खर्चिलो भएकाले लामागुरुहरु र बौद्ध धमावलम्बीहरुलाई जिल्लामा नै पहिलो पटक कार्यक्रम गरेर अवसर प्रदान गर्न लागिएको अध्यक्ष तामाङले बताए ।

वङ ग्रहण गर्न आउने लामाहरुलाई खान तथा बस्नको पनि व्यवस्था गरिएको अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्