
१७ पुस २०७५, इटहरी
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको बताएको छन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । कानुनमन्त्री कार्कीले माघको दोस्रो सातामा बस्ने प्रदेशको हिउँदे अधिवेशनले प्रदेशले नाम र राजधानीको टुंगो लगाउने दावी गरे ।
उनले प्रदेशका केही नाम आइसकेको संकेत गर्दै अब ढिलाई नहुने समेत बताए । पार्टी भित्र तथा बाहिरबाट समेत प्रदेशको नाम र राजधानीको विषयमा चाडै टुंगाउन दवाब आएकाले यो विषयमा ढिला नहुने उनको भनाइ थियो । प्रदेश १ का नागरिकले अब नाम र राजधानीको नाम पाउन धेरै कुर्न नपर्ने दावी उनले गरे । मन्त्री कार्कीले प्रदेशको नाम र राजधानीको विषयमा अन्य दलहरु सँग समेत सहमति नजिक पुगेको बताए ।
’सबै पार्टीको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगो लाग्छ, सहमति नभए बहुमतले सबैको साझा र छोटो नाम राख्छौँ’ उनले भने ’राजधानीको विषय अलि गम्भीर बनेको छ तर मुलुकको राष्ट्रियता र दीर्घकालीन हितलाई हेरेर सहमति मानै राजधानी चाडै तय गछौ ँ।’ मन्त्री कार्कीले संघीय कानुनको अभावका कारण प्रदेश १ को हिउँदे अधिवेशन प्रभावित भएको बताए ।
उनले प्रदेश १ सरकारले हाल तीन प्रकृतिका २४ कानुन निमार्ण गरिसकेको बताए । उनले भने ’हामीले दैनिक कार्य सञ्चालन सम्बन्धी कानुन, स्थानीय तहले दैनिक गतिविधि सञ्चालन गर्ने कानुन र केही संरचनागत विकासका लागि कानुन बनाएका छौँ, अब नियमावलि र निर्देशिका बन्छन् ।
मन्त्री कार्कीले संघीय सरकारले करिब तीन हजार सात सय कर्मचारी प्रदेशको लागि खटाए पनि प्रदेशमा भने करिब दुई हजार कर्मचारी मात्रै हाजिर भएको बताए । समायोजनका विषयले प्रदेशमा आएका कर्मचारी पनि प्रदेशमा बसेर काम गर्ने मनस्थितिमा नभएको टिप्पणी गरे । दक्ष कर्मचारी नहुँदा प्रदेश सरकारलाई असहज भएको पनि उनले बताए । यस्ता जटिल तथा पेचिला समस्याले प्रदेश सरकारलाई आक्रान्त बनाएको बताए ।





