
१४ पुस २०७५, इटहरी
विद्यार्थी र अभिभावकहरुको स्वास्थ्यलाई जोड दिंदै जनसेवा माध्यमिक विद्यालय रमाइलो मोरङमा २०४७ सालमा एसएलसी दिएका पुर्व विद्यार्थीहरुले निःशुल्क दन्त शिविर आयोजना गरेका छन् । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहकार्यमा निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।
दन्त शिविरमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रोफेसर डाक्टर आशिष श्रेष्ठ, प्रोफेसर डाक्टर ताराकान्ता भगत लगायतको टोलीले ३०० बढी विद्यार्थीहरुको दन्त सम्बन्धी सम्पूर्ण समस्याको परीक्षण गरेका थिए । दन्त शिविरमा आवश्यक परामर्श र निःशुल्क औषधी समेत प्रदान गरिएको कार्यक्रम संयोजक उदय सुव्बाले बताउनुभयो ।
कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी साथै तिनका अभिभावकहरुले दन्त शिविरवाट लाभ लिएका छन् । दाँत वलियो भए मात्रै आँत बलियो हुन सक्ने भन्दै दाँतको सुरक्षामा विशेष ख्याल गर्न कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ को प्रदेश सभा सदस्य सेर्माराज राईले बताउनुभयो । राईले स्वस्थ दात भएमा मिठो मुस्कान हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रोफेसर डाक्टर आशिष श्रेष्ठले शरीरका अन्य अङ्गलाई बढी जोड दिँदै परीक्षण गर्ने तर दाँतको सुरक्षामा ख्याल नगर्ने नराम्रो परिपाटी भएकाले अव त्यस्तो परिपाटीको अन्त्य गर्दै दाँतको सुरक्षाका लागि विशेष ख्याल गर्न आग्रह गर्नु भएको छ ।





