विराटनगरमा जलवायु परिवर्तन सम्बन्धीे सम्मेलन सुरु



१३ पुस २०७५, इटहरी

जलवायु सम्बन्धी ग्लोबल रिस्क इन्डेक्स २०१९ को तथ्याङ्क सार्वजनिक गर्दै गर्दा नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रहरूको सूचीमा परेको छ । केही समय अगाडी जलवायुसम्बन्धी विश्व सम्मेलन चलिरहेको बेलामा यो तथ्याङक सार्वजनिक गरीएको हो । तथ्याङ्क अनुसार नेपाल  जलवायु परिवर्तनको उच्च जोखिम पर्ने राष्ट्रमा चौथो स्थानमा परेको छ ।

यस्ता तथ्याङक सार्वजनिक भइरहँदा विराटनगरमा भने जलवायु परिवर्तन सम्बन्धी छैटौँ राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ । बिहीबारबाट सुरु भएको जलवायुका लागी नेपाली युवाहरूको सञ्जालद्वारा आयोजित सम्मेलनमा सातै प्रदेशका ५८ जिल्लाका युवाहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धी विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा स्वच्छ ऊर्जा नेपाल, दिगो विकास, वाइपैड नेपाल र ग्रिन हुड नेपाल लगायत संस्थाका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी नेटवर्क कोअर्डिनेटर सञ्जु श्रेष्ठले जानकारी दिइन ।

उनले सम्मेलनमा अनुभवको आदानप्रदान गरिनुका साथै जलवायु परिवर्तनसँग जुध्न युवाहरूको क्षमता अभिबृद्धि गरिने बताइन । तीनदिने सम्मेलन १४ गते विराटनगर घोषणापत्र जारी गर्दे सकिनेछ । जारी भएको घोषणापत्र वातावरण मन्त्रालयका साथै विराटनगर महानगरपालिकालाई समेत बुझाइने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्