कोशी नदीको बहुउपयोगितामा जोड दिइनुपर्ने बिज्ञको माग



०८ पुस २०७५, इटहरी

वन तथा भू–संरक्षण विभाग र अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको आयोजनामा ‘सङ्घीय संरचनामा कोशी बृहत् जलाधार व्यवस्थापनका प्रयास र सम्भावना’ विषयक कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रादेशिक जलाधार नीति तथा रणनीतिक योजना निर्माण तथा कार्यान्वयन, स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच योजना पहिचान, प्राथमिकीकरण र बजेट विनियोजनसँग सम्बन्धित विषयमा बृहत रुपमा छलफल भएको थियो । कार्यक्रममा स्थानीय तहका प्रतिनिधि तथा प्रमुख, प्रदेश मन्त्रालयका सचिव, सङ्घीय कार्यालयका प्रतिनिधि, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख डिभिजन वन कार्यालयका प्रमुख, डिभिजन सिँचाइ कार्यालय प्रमुख, कोशी बृहत् जलाधार व्यवस्थापन केन्द्रका प्रमुख एवं अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका विज्ञ कार्यक्रममा सहभागी भएका थिए ।

कोशी जलाधारसँग जोडिएका नदी सञ्जालको गुरुयोजना, क्षमता तथा सचेतना कार्यक्रम सञ्चालन, जलाधारभित्र वातावरणमैत्री, स्थानीय तहमा फोहर व्यवस्थापन र उपयुक्त वन सम्वद्र्धन पद्धति लागु गर्नुपर्ने, जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन गर्नुपर्ने कुरामा उपस्थितले जोड दिएका थिए ।

कोशीबाट अहिले पनि सुनसरी र मोरङमा करीब ६८ हजार हेक्टर जग्गामा सिँचाइ भइरहेको छ । कोशीको उच्च बाँध निर्माण भएमा ठूलो परिमाणमा ऊर्जा निकाल्न सकिने र पानीलाई एकीकृत गरी पानीजहाज चलाउन सकिने सम्भावना रहेको पनि कार्यक्रममा सहभागीले आफ्नो तर्क राखेका थिए । कार्यक्रममा वन, पर्यटन तथा उद्योग मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले कोशी नदीको उचित व्यवस्थापन गर्न विज्ञबाट आएका सुझावका आधारमा नीतिनियम र योजना बनाउन सजिलो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्