म्यानचेस्टर युनाइटेडको प्रशिक्षक होजे मोउरिन्होल बर्खास्त



०५ पौष २०७५, काठमाडौं

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक होजे मोउरिन्होललाई मंगलबार पदबाट बर्खास्त गरेको छ । टोलीले लगातार निराशाजनक प्रदर्शन गरेपछि उनलाई पदबाट बर्खास्त गरिएको हो । ५५ वर्षीय पोर्चुगिज नागरिक मोउरिन्हो साढे दुई वर्षअघि म्यानचेस्टर युनाइटेडको प्रशिक्षकमा नियुक्त भएका थिए ।

मोउरिन्होले आफ्नो कार्यकालमा म्यानचेस्टर युनाइटेडलाई इङ्लिस लिग कप र युरोपा लिगको उपाधि चुमाएका थिए । तर, घरेलु लिगमा भने म्यानचेस्टर युनाइटेडले लामो समयदेखि निराशाजनक प्रदर्शन गर्दै आएको छ ।

जारी सिजनको लिगमा पनि म्यानचेस्टर युनाइटेड तालिकाको छैटौं स्थानमा छ । हालसम्म १७ खेल खेलेको म्यानचेस्टर युनाइटेडले केवल सात खेलमा जित हात पारेको छ । पाँच खेल बराबरीमा सकिएको छ भने पाँच खेलमा म्यानचेस्टर युनाइटेडले पराजय भोगेको छ ।

हालसम्म केवल २६ अंक बटुल्न सकेको म्यानचेस्टर युनाइटेड लिग लिडर लिभरपुलभन्दा १९ अंकले पछाडि छ । घरेलु लिगमा सन् १९९०–९१ सिजनयता क्लबको यो सबैभन्दा निराशाजनक प्रदर्शन हो । पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले नै ३–१ गोलले हराएको थियो। ‘यो सिजनको बाँकी अवधिका लागि कामचलाउ प्रशिक्षक नियुक्त गरिने छ। त्यसपछि मात्र स्थायी प्रशिक्षक खोजिने छ’, क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

म्यानचेस्टर युनाइटेडले क्लबलाई पुर्याएको योगदानका लागि मोउरिन्होप्रति आभार पनि ब्यक्त गरेको छ । सन् २०१६ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि उनी अर्को इङ्लिस क्लब चेल्सीमा थिए ।

मोउरिन्होले स्पेनिस क्लब रियल म्याड्रिड, इटालियन क्लब इन्टर मिलान, पोर्चुगिज क्लब एफसी पोर्टो र बेनफिकामा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्