गोरु काट्नेलाई रिहा गर्न कुमार लिङ्देन समूहको माग



०३ पुस २०७५, सुनसरी

इलाका प्रहरी कार्यालय धरानले गोरु काटिरहेको अवस्थामा फेला पारेका केहीलाई थुनामा राखेपछी सुुनसरीको माहोल तातेको छ । खासगरी जनजाति समुहका राजनैतिक दल समेतको यो मुुद्दामा एैक्यबद्धता देखिएको छ । कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान मञ्च नेपालले गोरु काटेको अभियोगमा पक्राउ गरिनुलाई धर्म निरपेक्षमाथिको प्रहार भएको दाबी गरेको छ ।

सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चले यस्तो दावी गरेको हो । धर्म निरपेक्ष कोटेट भइसकेको अवस्थामा पक्राउ गरिनु संविधानमाथिको प्रहार भएको मञ्चका जिल्ला अध्यक्षले बताए । तर भदौं १ गते आएको मुलुकी अपराध संहिताको परिच्छेद २७ को पशुपंक्षीसम्बन्धी कसुरको २८९ मा भने गाई वा गोरु हत्या गर्नेमाथि कारबाही हुने भनी स्पष्ट व्यवस्था गरेको छ । गाई वा गोरु काटेको पाइए ३ वर्षसम्मको कैद हुने व्यवस्था उल्लेख गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले यही कानूनलाई आधार मानेर गत शुक्रबार धरान–१७ विद्याटोलबाट १० जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो । तर मञ्चले भने यो धर्म निरपेक्षमाथिको प्रहार भएकाले तत्काल निःशर्त रिहाई गरिनुपर्ने माग गरेको छ ।

समितिले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई आइतबार नै धरानमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्