
२९ मङ्सिर २०७५, काठमाडौं
ललितपुर बन्यो नेपालको पहिलो क्राफ्ट सिटी (कला नगरी)
नेपाल हस्तकला महासंघको मंसिर २८ गते ४६ औं वार्षिकोत्सव तथा सातौं हस्तकला दिवस मनाईएको छ । कार्यक्रमको प्रमुख अतिथिमा शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतीविद सत्यमोहन जोशी रहनुभएको थियो । त्यसैगरी कार्यक्रमको विशिष्ठ अतिथिमा नेपाल सरकारका पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम रहनु भएको थियो । सो कार्यक्रम सँगै ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको उपलक्ष्यमा विहान प्रभातफेरी गरी साँझ दिपावली गरिएको थियो । युनेस्को सहितको संस्थाले एशीया महाद्विपमा ललितपुर लगायत २७ शहरहरुलाई वर्ल्ड क्राफ्ट सिटी घोषणा गरी सकेको छ ।

कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतीविद सत्यमोहन जोशी बाट पानसमा दीप प्रज्वल गरी ४६ औं वार्षिक उत्सव तथा सातौं हस्तकला दिवसको समुद्घाटन भएको थियो । महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापार्रलाई प्रवर्द्धन गर्न महासंघले आफ्नो ध्यान केन्द्रीत गरेको बताए ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले ललितपुर कला नगरीका रुपमा ललितपुर, भक्तपुर र काठमाण्डौ मात्र नभर्र्ई सिङ्गो नेपाल चिनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । नेपालको विविध कलाले नै राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै कलाकार अरनिको को वारेमा पनि व्याख्या गर्नुभयो । नेपालका बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरु विस्तारै लोप हुदैं गएको तथ्यलाई औल्याउँदै हस्तकला महासंघले हाम्रो संस्कृतिको परिचयको रुपमा रहेको हस्तकलाको जगेर्ना, प्रवर्द्धन तथा विकासमा पुर्याइरहेको योगदानको पनि प्रशंसा गरे ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले संस्थाको वार्षिक उत्सव तथा हस्तकला दिवसको शुभकामना व्यक्त गर्दै काष्ठ नगरी घोषणाले ललितपुरका साथसाथै सिंगो नेपालको पर्यटन विकासका साथै सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुने बताउनुभयो । यस संगै अब ललितपुर महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरियता कायम गरी क्राफ्ट नगरीको उत्पादन अंकीत स्टिकर टाँसी विक्रि गरेमा यहाका उत्पादनले उच्च मूल्य प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा महासंघका पदाधिकारीहरु तथा कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्षहरु, पूर्वपदाधिकारी तथा कार्यसमिति सदस्यहरु, उपत्यकाभित्रका सदस्य संघका अध्यक्षहरु एवं प्रतिनिधिहरु, कार्यसमिति तथा परिषदद्वारा गठित विभिन्न समिति तथा उपसमितिका सदस्यहरु लगायत विभिन्न व्यापारिक संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति समेत उपस्थिति रहेको थियो ।





