एभरेष्ट प्रिमियर लिग : पोखराले चितवनलाई दियो १३० रनको लक्ष्य



२९ मंसिर २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिगको शनिबारको दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्ससामू १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर व्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२९ रन बनायो ।

पोखराबाट सुनील धमलाले ४२ बलमा ५१ रन बनाउने क्रममा २ छक्का र ३ चौका प्रहार गरे । यस्तै कायल कोयट्जरले २३, विनोद भण्डारीले २७, राजेश पुलामी मगरले १२ रन बनाए । पाउल कलिन शुन्य रनमा आउट भए भने सन्नी भीमसरिया ४ र शक्ति गौचन १ रन बनाउँदै अविजित रहे । चितवनबाट जर्ज स्कटले ४ ओभरमा २४ रन खर्चँदै ३ विकेट लिए भने ललितसिंह भण्डारीले ४ ओभरमा २९ रन खर्चँदै २ विकेट लिए ।

शक्ति गौचनले आफ्नो दुई दशक लामो क्रिकेटिङ यात्रा शनिबारको खेलबाट टुंग्याउँदै छन् । उनले टीभीएस एभरेष्ट प्रिमियर लिगको शनिबारको दोस्रो खेल अन्तर्गत पोखरा राइनोजबाट चितवन टाइगर्ससँग खेल्दै छन् । दुवै टोलीको प्रतियोगितामा यो अन्तिम खेल हो । शक्तिले ईपीएल आफ्नो अन्तिम प्रमुख प्रतियोगिता हुने बताइसकेका छन् । जुलाईमा नेदरल्यान्ड्ससँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै शक्तिले जीवन टुंगाएका थिए । उनी सन् २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफी देखि नेपालबाट खेल्दै आएका छन् ।

पोखरा राइनोज पहिलो चार खेल हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । चितवनले यो खेल जितेमा प्ले अफमा पुग्ने सम्भावना जिवितै राख्छ । चितवन टाइगर्सले टस जितेर फिल्डिङ रोजेको छ ।

प्रतिक्रिया दिनुहोस्