लिग सिरी ‘ए’ : आज दुई रोमाञ्चक खेल हुँदै



२९ मंसिर २०७५, काठमाडौं

इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलमा आज दुई रोमाञ्चक खेलहरू हुँदैछन् । जहाँ दुई उपाधि दाबेदार टोलीको खेल आज हुँदैछन् ।
आज हुने पहिलो खेलमा यसै साता मात्रै युरोपियन च्याम्पियन्स लिगको अन्तिम ३२ बाटै बाहिरिएको इन्टर मिलान आफ्नो १६औं खेल खेल्दैछ । उसले यो खेलका लागि उडिनेसलाई आफ्नो घरमा स्वागत गर्दैछ ।

मिलान हाल अंक तालिकामा १५ खेलपछि २९ अंकका साथ तेस्रो स्थानमा छ । आजको खेल जितेर ऊ अंक तालिका सुधार गर्ने योजनामा छ । यदि आजको खेलमा पराजित भए ऊमाथि चौथो स्थानको एसी मिलानले दबाब बढाउने छ । मिलान अहिले २६ अंकसहित चौथो स्थानमा ।
यता, आज मिलानको घरमा उत्रिन लागेको उडिनेसको खातामा भने समान १५ खेलपछि १३ अंक छ । ऊ लिगको १७औं स्थानमा छ । मिलान र उडिनेसको खेल आज राति १०ः४५ बजेबाट हुनेछ ।

आज हुने अर्को महत्त्वपूर्ण खेलमा टोरिनो र लिग लिडर युभेन्टस खेल्दैछन् । एकै सहरमा दुई टोली खेल्ने भएकाले यो खेलाई डर्बी नाम दिइन्छ । यो खेलका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस टोरिनोको घरमा उत्रिँदैछ ।

युभेन्टस हाल १५ खेलपछि ४३ अंकका साथ लिगको शीर्ष स्थानमा छ भने टोरिनो समान खेलबाट २२ अंकका साथ छैटौं स्थानमा छ । टोरिनो युभेन्टसभन्दा आधाभन्दा बढी अंकले पछि छ । युभेन्टस यो सिजन लिगमा अझैसम्म पनि अपराजित नै छ । ऊ आजको खेल पनि जितेर अपराजित यात्रालाई थप लामो बनाउन चाहन्छ । आजको खेलमा टोलीका अधिकांश प्रमुख खेलाडी उत्रिनेछन् । फरवार्ड रोनाल्डो पनि सुरुआती टोलबाटै मैदान उत्रिनेछन् ।

आजको खेलबाट थप गोल गरेर रोनाल्डोलाई लिगको सर्वाधिक गोलकर्ताको सूचीमा उक्लिने अवसर छ । उनले हालसम्म १० गोल गरेका छन् भने ६ गोलका लागि असिस्ट गरेका छन् ।

खेल आज नेपाली समयअनुसार आज राति १ः१५ बजेबाट ओलम्पियो डि टोरिनो रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्