फरवार्ड मोहमद सलाह ‘बीबीसी अफ्रिकन वर्ष फुटबलर’ बाट सम्मानित



२९ मंसिर २०७५, काठमाडौं

क्लब लिभरपुलका फरवार्ड मोहमद सलाह ‘बीबीसी अफ्रिकन वर्ष फुटबलर’ अवार्ड बाट सम्मानित भएका छन् । युरोपमा व्यावसायिक फुटबल खेलिरहेका अफ्रिका महादेशका अन्य चार खेलाडीलाई पछि पार्दै इजिप्टका सलाहले बीबीसी अफ्रिकन वर्ष फुटबलर अवार्ड हात पारेका हुन् ।

बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने यस अवार्ड सलाहले लगातार दोस्रो पटक जितेका हुन् । सलाहले गत बर्ष पनि यस अवार्ड जितेका थिए । अवार्डका लागि बीबीसीले मनोनयन गरेका अन्य चार खेलाडी भन्दा सर्वाधिक बढी मत ल्याउँदै सलाहले अवार्ड जितेका हुन्। सलाह यस अवार्ड जित्ने इजिप्टका तेस्रा खेलाडी हुन् । उपाधि जित्ने क्रममा सलाहले सेनेगल तथा लिभरपुलकै साडियो माने, मोरक्को तथा युभेन्ट्सका मेधी बेनेटिया, सेनेगल तथा मोनाकोका कालिडोउ कोलीवाली र घाना तथा एट्लेटीको मड्रिडका थोमस पार्टीलाई पछि पारे । बीबीसीले यस अवार्डका लागि मनोनित पाँच खेलाडीको सूची भोटिङका लागि आफ्नो वेबसाइडमा राख्ने गर्छ ।

जसमा समर्थकहरुको भोटका आधारमा विजेता घोषित गरिन्छ। यस अवार्ड जित्ने क्रममा सलाहले ६ लाख ५० हजार बढी भोट पाएका थिए । सलाहले गत सिजन लिभरपुलका लागि उत्कृष्ट खेलेका थिए । लिभरपुलका लागि सलाहले गत सिजन ५२ खेलमा ४४ गोल गरेका थिए । सलाहकै उच्च प्रदर्शनले गत सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। जारी सिजन पनि सलाह उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्