
२५ मङ्सिर २०७५, कंचनपुर
खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजना बद्द कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ ।
कंचनपुरको पुनर्वास नगरपालिकामा अवस्थित श्री जन कल्याण उच्च माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सब कार्यक्रमको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विभेदकारी शिक्षाको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको बताउँदै उहाँले गुणस्तरीय शिक्षाको माध्यमबाट नै राष्ट्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नु भयो, “अहिलेको शिक्षा नीतिलाई परिमार्जन गरेर अघि बढ्नु पर्ने चुनौती छ । विद्यार्थीको क्षमता अनुसारको पठनपाठनमा सुधार गर्नुपर्ने जरुरी छ । यसका लागि सरकार गम्भीर छ ।”

आफूले अध्ययन गरेको विद्यालयको वार्षिकोत्सब कार्यक्रममा सहभागी हुन कंचनपुर पुग्नु भएकी मन्त्री मगरले विद्यालयले भोग्नुपरेको विविध समस्याको समाधान गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो । विद्यालयको स्तर उन्नतिका निम्ति आफ्नो तर्फबाट पुरा सहयोग रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।





