एभरेष्ट प्रिमियर लिग : पोखरा राइनोजद्वारा विराटनगर वारियर्सलाई ८५ रनको लक्ष्य



२५ मंसिर २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै ८४ रन बनाएको छ ।

पोखराका लागि यसअघि लगातार दुई अर्धशतक बनाएका रिचार्ड लेभी असफल भएपछि पोखराले सम्मानजनक लक्ष्य दिन असफल भएको हो। लेभी यस खेलमा केवल ३ रनमा आउट भएका थिए । पोखराका लागि पउल कोघलिनले सर्वाधिक २० रन बनाएका थिए भने राजेश पुलामी मगरले १७ रन बनाए । पोखराका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

पोखराका कप्तान किले कोत्जर ४, बिनोद भण्डारी १, सुशान भारी ८, बिक्रम सोब ५, शक्ति गौचनले ३ र सुबेन्दु पाण्डे शुन्य रनमा आउट भएका थिए । विराटनगरका लागि पउल भान मिकेरेनले ३ विकेट लिए भने भान डेर मार्वेले २ विकेट लिएका थिए । त्यस्तै बसन्त रेग्मी र समित पटेलले एक एक विकेट लिएका थिए ।

पोखराले यसअघि दुई खेलमा हार बेहोरेको छ भने विराटनगरले एक खेलमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्