
२५ मङ्सिर २०७५, विदुर
“लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार” भन्ने नारा सहितको लैङ्गिक हिंसा विरुद्धको १६ दिने र अत्ती भो! अभियान अन्तर्गत नुवाकोटमा पहिलोपटक पुरुष पद यात्रा भएको छ । सन् २०१४ मा दक्षिण एसियामा नै पहिलोपटक नेपालबाट सुरु भएको महिला तथा बालिका माथि हुने हिंसा विरुद्धको पुरुष ऐक्यबद्धता स्वरुपको पुरुष पदयाा नुवाकोटमा भने आज पहिलोपटक सम्पन्न गरिएको हो ।

अक्सफार्मको सहयोगमा महिला तथा बालिकामाथि हुने हिंसा विरुद्ध एक्यबद्धता स्वरूप भएको पदयात्रा आज बिहान विदुर नगरपालिका-१ त्रिशुली बजारदेखि विदुरको बाल मन्दिरसम्म भएको छ।
पदयात्रापछि कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुक भएको कारण विभिन्न संस्कृति र परम्पराको चालचलनले गर्दा लैङ्गिक हिंसा हुने गरेको र त्यस्ता किसिमका हिंसाको पहिचान गरी समुदायले सुधार्दै लैजानु धारणा तामाङले व्यक्त गर्नुभयो । अभियानलाई केन्द्रीयस्तरबाट मात्र नभई ग्रामिणभेगसम्म पुगेर महिला तथा बालिकाकोस्थिति पहिचान मानसिक तथा शारीरिक रुपमा अशक्त तथा पिडितलाई न्याय दिलाउनु पर्ने र लैङ्गिक हिंसाको अन्त्य हुनु गर्नुपर्ने तामाङले बताउनुभयो ।

कार्यक्रममा दामोदर खतिवडाको समुहले महिला तथा बालिकामा हुने लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक नाटक प्रदर्शन गरेको थियो ।घरायसि काममा आफ्नो बढि समय लगाउनुपर्ने भएकोले अझै पनि बहुसंख्यक महिलाहरु शिक्षा, स्वास्थ्य, धनसम्पती साथै प्रत्यक्ष आयआर्जनका क्षेत्रबाट टाढा रहने कारण महिलामाथी हुने हिंसाको सम्भावना बढ्न जान्छ तसर्थ घरायसि काममा महिलालाई सघाइ हिंसाको शिकार बन्न दिनुहुन्न भन्ने सन्देशका साथ नाटक प्रस्तुत गरेका थिए ।

पदयात्रामा “अत्ति भो!!! आउनुहोस् महिला र बालिकामाथि हुने हिंसाविरुद्ध जुटौं”, “लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार”, “असल पुरुषले महिलामाथि हिंसा गर्दैन”, “मेरो समर्थन तिमीलाई”, “म महिला, पुरुष, तेस्रो लिङ्गप्रति हुने हिंसा र दुर्व्यवहारको विरोध गर्छु” जस्ता प्ले कार्डहरुको प्रदर्शन गरेको थियो ।
पदयात्रा सहायता सामाजिक संस्था, सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल, १० औं राष्ट्रिय मानव अधिकार महाभेला, हामी दाजुभाइ, ककनी सामुदायिक विकास केन्द्र, विदुर सिटी युथ क्लब, नुवाकोट जेसिस, नेपाल पत्रकार महासंघ, महिला मानव अधिकार रक्षक र जिल्लास्थित सरोकार निकायहरुको साझेदारीमा भएको हो ।

पदयात्रामा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई, सामुदायिक प्रहरीका प्रमुख उत्सव अर्याल, अन्तरपाटि महिला सञ्जाल नुवाकोट अध्यक्ष विन्दा अर्याल, विदुर सिटी युथ क्लबका प्रतिनिधि, जेसिस नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक लगायतको सहभागिता रहेको थियो ।






