एभरेष्ट प्रिमियर लिग : चितवन लगातार हार बेहोर्दै, काठमाडौंको विजयी सुरुवात



२४ मंसिर २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिग (ईपीएल)  अन्तर्गत आज भएको खेलमा चितवन टाइगर्सले लगातार दोस्रो हार बेहोरेको छ । प्रतियोगिताको पहिलो खेलमा ललितपुर प्याट्रिएटससँग ११ रनले पराजित भएको चितवन आजको खेलमा पनि काठमाडौं किंग्स इलाभेनसँग ६ विकेटले पराजित भएको हो ।

१६१ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभर सकिन सात बल बाँकी छँदा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।काठमाडौंका लागि सुब्रामानियन आनन्दले अविजित ४३ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा काठमाडौंले विजयी सुरुवात गरेको हो । उनले १८ बलको सामना गर्दै चार छक्का र एक चौका प्रहार गरे । त्यस्तै, अमरसिंह रौटेलाले १२ बलमा अविजित २१ रन बनाए ।

यसअघि काठमाडौंका लागि सागर पुनले ३९, नरेश बुढाऐरले २२ र अमित श्रेष्ठले १८ रन बनाएर आउट भए । यता, चितवनका लागि भने साहब आलमले दुई विकेट लिएका थिए । त्रिभुवन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा सबै विकेटको क्षतिमा १६० रन बनाएको थियो । चितवनले उत्कृष्ट सुरुवात गरेको थियो । ५३ रन हुदा पहिलो विकेट गुमाएको चितवनका लागि दीपेन्द्रसिंह ऐरीले ४५ रन बनाए ।

त्यस्तै, पाउल स्टिर्लिङले ३४ रन बनाएका थिए । उनले १३ बलमा तीन छक्का र तीन चौका प्रहार गरेका थिए । त्यस्तै सन्दीप सुनारले २५ रन बनाउँदा कप्तान पृथु बास्कोटाले अविजित २० रन बनाए । बलिङतर्फ काठमाडौंका पर्दीप साहु र सामसद शिखले समान ३/३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्