एभरेष्ट प्रिमियर लिग : पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सलाई दियो २१६ रनको लक्ष्य



२३ मंसिर २०७५, काठमाडौं

पिएल खेल्ने सबैभन्दा ठूलो नामका रुपमा हेरिएका दक्षिण अफ्रिकी क्रिकेटर रिचर्ड लेभीले टि–२० क्रिकेटमा बिष्फोटक व्याटिङ गरेका छन् । सोही उनको कलाका कारण प्रेरित पोखरा राइनोजले जारी ईपीएलमा भैरहवा ग्लाडियटर्सलाई २१६ रनको विशाल लक्ष्य प्रस्तुुत गरेको छ । टस जितेर पहिले व्याटिङ गर्ने निर्णय सही सावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको खेलमा २० ओभर पूरा व्याटिङ गरेको भैरहवाले ५ विकेट गुमाएर २१५ रन बनाएको हो । ईपीएलको ३ वर्षे इतिहासमा सबैभन्दा धेरै रन भैरहवाविरुद्ध पोखराले प्रहार गरेको छ । ओपनिङ व्याटिङमा आएका लेभिले क्रिजमा रहेसम्म आफ्नो व्याटिङ कौशल प्रस्तुुत गरिरहे । १७ औं ओभरमा बलिङ गर्न आएका अभिनाष बोहराको बलमा कृष्ण कार्कीले उत्कृष्ट क्याच गर्दै लेभिलाई आउट गरेका थिए । लेभिले ३६ बलको सामना गर्दै ७ छक्का र ७ चौकाको मद्दतमा ७९ रन बनाए ।

त्यस्तै, अर्का ओपनिङ व्याट्सम्यान कप्तान काइल कोइट्जरले ३५ बलको सामना गर्दै ४६ रन बनाए भने सुनिल धमलाले २३ बलमा ३८ रन जोडे । पाउल कौलिनले २० रन बनाए । भैरहवाका कप्तान शरद भेषावकरले ओपनिङ व्याट्सम्यान रिचर्ड लेभिलाई छोटो रनमा रोक्न विभिन्न रणनीति बनाए पनि सफल हुन सकेनन् । पोखराविरुद्धको खेलमा भैरहवाका बलरले धेरै रन खर्चेका छन् । पुनित मेहरा, कृष्ण कार्की, अभिनास बोहरा र रायन टेन दोसच्याटेले समान एक—एक विकेट लिएका छन् ।

एक विकेट लिएका कृष्ण कार्की सबैभन्दा महँगा बलर सावित भएका छन् । उनले ४ ओभर बलिङ गर्र्दै ५१ रन खर्चिए ।

प्रतिक्रिया दिनुहोस्