
२२ मङ्सिर २०७५, इटहरी
इटहरीको जनता बहुमुखी क्याम्पसले ‘क्यूएए’ मान्यता प्राप्त गरेपछि आज खुसीयाली मनाएको छ । विभिन्न प्ले कार्डको नारासहित क्याम्पसले बिहान खुसीयाली मनाउँदै इटहरी परीसरमा ¥याली लगाएको थियो । शिक्षक, विभिन्न सङ्गठनका नेतृत्वकर्मी देखी विद्यार्थीको उपस्थितिमा खुसीयाली मनाएको हो ।
विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने ‘क्यूएए’ प्रमाणपत्र जनता क्याम्पसले पाएको हो । यस्तो प्रमाणपत्र पाउने यो क्याम्पस प्रदेश १ मा चौथो र देशमै २६ औँ क्याम्पस हो । देशभरमा एक हजार चार सय ८ क्याम्पस छन् ।

विभिन्न चरणको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, शैक्षिक प्रतिफलका सूचक पार गर्ने क्याम्पसले यो प्रमाणपत्र पाउने गर्छ । क्युएए प्रमाणपत्र गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ । प्राध्यापक सङ्घ जनता बहुमुखी क्याम्पसका अध्यक्ष अर्जुन उप्रेतीका अनुसार सर्टि््िफकेटसँगै क्याम्पसले क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि पाँच करोड रुपैयाँ पाउनेछ ।
यस्तै पास हुने प्रतिविद्यार्थी ८० हजार रुपैयाँका दरले अनुदान प्राप्त गर्नेछ । यो सर्टि््िफकेटको अवधि पाँच वर्षको हुनेछ । प्रदेश १ मा अहिलेसम्ममा इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस, दमकको दमक बहुमुखी क्याम्पस, सुन्दरहरैंचाको सुकुना क्याम्पसले यस्तो प्रमाणपत्र पाइसकेका छन् ।





