शहीद स्मारक ‘ए’ डिभिजन लिग : सतप्रतिशत जित निकाल्ने मनाङलाई थ्री स्टारले पछ्याउँदै गर्दा मछिन्द्र र एआरटी एक जितको खोजीमा



२१ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैठौं चरणका खेल सकिँदासम्म दुईवटा क्लबले अझै पनि जित निकाल्नका लागि संघर्ष गरिरहेका छन् ।

६ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम (एआरटीं) अझै जितका लागि सङ्घर्ष गरिरहेका छन् । तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । छैठौं चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङदी क्लबले शत प्रतिशत नतिजासहित उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ भने मनाङ्लाई थ्री स्टारले पच्छ्याइरहेको छ ।

गत असोज १३ गतेदेखि शुरु भएको लिगमा सहभागी १४ क्लबले ६/६ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये छैठौं चरणसम्म आइपुग्दा ४२ खेल समाप्त भइसकेको छ । उपाधि दाबेदार क्लब मनाङ मर्स्याङदीले अहिलेसम्म सबै ६ खेल जितेको छ । मनाङसँगै अपराजित रहेको अर्को क्लब त्रिभुवन आर्मीले चार खेलमा जित र दुई बराबरी खेलेको छ । लिगमा यी दुई क्लबमात्र अहिलेसम्म अपराजित छन् ।

यस्तै एक खेल मात्र हारेका थ्री स्टार र सङ्कटा अङ्क तालिकामा आर्मी भन्दा अगाडि छन् । मनाङसँग आर्मी र थ्री स्टारलाई उपाधीको मुख्य दाबेदारको रुपमा हेरिएको छ । तर आर्मीले दुई खेल बराबरी खेलेपछि शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछि परेको छ ।

प्रतिक्रिया दिनुहोस्