कोपा डेल रे : मड्रिड अन्तिम १६ मा



२१ मंसिर २०७५, काठमाडौं

स्पेनिस रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार राति सम्पन्न अन्तिम ३२ को दोस्रो लेगको खेलमा मेलिल्लामाथि फराकिलो जित निकाल्दै रियलले अन्तिम १६ को टिकट काटेको हो ।

आफ्नो घर सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले पाहुना टोली मेलिल्लामाथि ६–१ को रवाफिलो जित निकाल्यो । उसले अघिल्लो लेगमा मेलिल्लाकै घरमा ४–० को जित निकालेको थियो । दोस्रो लेगमा पनि ६–१ को जित निकालेकाले दुवै लेगको नतिजाबाट समग्रमा १०–१ को फराकिलो जित निकाल्दै रियलले अन्तिम १६ को यात्रा तय गरेको हो ।

आफ्नो घरमा रियलले खेल सुरुबाटै एकपक्षीय बनाएको थियो । जसमा उसले ३ गोल पहिलो हाफमा गरेको थियो भने बाँकी ३ गोल दोस्रो हाफमा गरेको थियो । उसले १ गोल पनि दोस्रो हाफमै खाएको थियो । रियलको जितमा मार्को एसेन्सियो र इस्कोले समान २–२ गोल गरे । एसेन्सियोले खेलको ३३औं र ३५औं मिनेटमा गरी ३ मिनेटको बीचमा २ गोल गरे ।

यता, लामो समयपछि टोलीको प्लेइङ लिस्टमा परेर मैदान उत्रिएका इस्कोले खेलको ४७औं र ८३औं मिनेटमा गरी २ गोल गरे । त्यस्तै खेलको ३९औं मिनेटमा जाभिएर सान्चेज डे फेलिपेले गोल गरे । त्यसछि खेलको ७५औं मिनेटमा भिनिसियस जुनियरले गोल गरे ।

यता, पराजित मेलिल्लाका लागि खेलको ८१औं मिनेटमा पेनाल्टीबाट याकिन क्विस्मीले १ गोल गरे । अघिल्लो लेगको समेत नतिजा जोड्दा रियलले १०–१ को फराकिलो जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्