पर्यटकीय स्थान संरक्षण : स्थानीय र नेपाली सेना सँगसँगै



२० मङ्सिर २०७५, सुनसरी

सङ्घीय सरकार देखि, प्रादेशीक र स्थानीय सरकार समेत हाल नोपललाई पर्यटक आगमनको प्रमुख गन्तव्य बनाउन कम्मर कसेको देखिन्छ । प्रदेश १ सरकारले समेत प्रदेशमा रहेका विभिन्न प्राकृतिक सम्पदाको प्रयोग गरी आफ्नो मुख्य आयको रूपमा पर्यटनलाई विकास गर्ने योजना सारी रहेको छ । तराईमा पर्यटकलाई लोभ्याउने प्रमुख स्रोतका रूपमा ताल तथा पोखरीलाई लिने गरिन्छ । प्रदेश १ का मोरङ, झापा, सुनसरीमा धेरै ताल भएपनी पर्यटकको नजरमा भने सीमित मात्र पर्ने गरेका छन् ।

पूर्वी तराईमा धेरै ताल रहेपनी तिनीहरूको विकास र स्तरोन्तीमा ध्यान नपुग्दा तिनीहरू छाँयामा परेको देखिन्छ । जामुनखाँडी सिमसार, बेतना सिमसार, र इटहरीको तालतलैया सीमित पर्यटकको आँखामा परेपनी सुनसरीमै रहेका बर्जु ताल, रास ताल लगायत दर्जनौँ ताल संरक्षण र प्रचारको अभावमा पर्यटकको आँखामा पर्न सकेका छैनन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । यसै अनुसार सरकारले संरक्षण गर्न योग्य पर्यटकीय स्थलको संरक्षणमा लाग्न आफ्ना संयन्त्रलाई लगाई रहेको छ । सरकारको काममा सारथीको रूपमा रहेको नेपाली सेना पनि सरकारको यो अभियान सफल बनाउन सक्रिय देखिएको छ । इटहरीमा रहेको सवुज गण पर्यटकीय स्थान सरसफाइ र त्यसको श्रृङ्गारमा लागि परेको हो । इटहरीमा रहेको तालतलैया क्षेत्रको बृहत् सफाइ गरेको गणले ७५ जना सेनाका जवान र स्थानीयसँगको सहकार्यमा मङ्गलवार सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ मा रहेको रास तालको सरसरफाई र त्यसको श्रृङ्गार गरेको छ ।

पर्यावरणको संरक्षण सँगै पर्यटकीय स्थलको सरसफाई गरी पर्यटक लोभ्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सेनाले जनाएको छ । सुनसरीमा दर्जन बढी ताल तथा पोखरी पर्यटकीय क्षेत्र बन्न लायक रहेका छन् । तर संरक्षणको अभावमा ती गुमनाम रहेको पाइन्छ । सुनसरीका तालमा जलकुम्भी फैलने समस्या विकराल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्