
१८ मङ्सिर २०७५, इटहरी
गएको मङ्सिर ८ गतेबाट सरकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलाईरहेको छ । हिंसा भन्न साथ एउटा नकारात्मक पक्ष हो, जुन पछिल्लो समय देशैभर बढ्दै गएको छ । सरकारकै सक्रियतामा मनाइँदै गरिएको हिंसा विरुद्धको दिवसको बिचमा समेत हिंसा घटेको देखिँदैन । यो विषय सरकारलाई दबाब दिनलाई विभिन्न सामाजिक संस्थाका अधिकारकर्मीको बिषेश मुद्दा बनेको छ । हिंसामा प्राय: जसो महिला पर्ने गर्छन् भनिन्छ । यस हिंसा विरुद्ध वर्षै पिच्छे विभिन्न कार्यक्रम पनि सञ्चालन गरीन्छन । अझ कतिपय अवस्थामा महिला हिंसा भनेर प्राथमिकताका साथ अभियान चलाइन्छ । तर त्यति नै प्राथमिकतामा राख्नुपर्ने अझै समाजमा आफ्नो अस्तित्व स्थापित गर्न नसकेको तेस्रो लीङीको विषय भने यस अभियानमा समावेस भएको पाईदैन ।
लैङ्गिक हिंसाको विरुद्धको १६ दिबसिय अभियानका अवसरमा इटहरी नगर कार्यपालिकाकै आयोजनामा अभियान चलिरहेको छ । सबै लिङ्ग विरुद्ध हुने हिंसाको न्युनीकरण गर्ने भन्दै चलाइएको अभियानमा महिला, पुरुष वा बालबालिकाको विरुद्धको हिंसाका बिषयमा नगरपालिका लागेको देखीएपनि तेस्रो लिङ्गी भने उक्त अभियानमा समावेश देखिएका छैनन् । झट्ट हेर्दा महिला बढी हिंसामा देखिन्छन् तर परिवारले समेत लिङ्ग कै आधारमा नसुईकारेका तेस्रो लिङ्गी त्यसको दोब्बर हिंसाको सिकार बनेका छन् ।
इटहरी मै तेस्रो लिङ्गीको सङ्ख्या निकै छ तर सबै जनताको सरकार भन्दै बनेको इटहरी सरकारले अभियानमा कुनै विषय नसमेटेको निल हिरा समाज इटहरीका कार्यक्रमका संयोजक देवनारायण चौधरीले बताए । अन्त कतै समेटेको सुने पनि इटहरीमा कुनै कार्यक्रम तेस्रो लिङ्गीका लागि भनेर नगरेको उनको भनाई छ । ‘अन्य स्थानमा समेटीएको समाचार आएका छन् तर यो अभियानमा इटहरी नगरपालिकाले हामीलाई वास्ता गरेको छैन ।’ चौधरीले भने ।
कतिपय स्थानका तेस्रो लिङ्गी पेट पाल्न कै लागि यौन पेसामा लागेका छन् । यसले यौन रोगको जोखिम झनै बढ्दै गएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकै बिचमा परेको बिश्व एड्स दिवसमा समेत तेस्रो लिङ्गीका लागी कार्यक्रम गरेको पाईएन । स्थानीय सरकारले तेस्रो लिङ्गीलाई जिवीको पार्जनका लागि कुनै पनि सिपमूलक तालीम नदिएको निल हिरा समाज इटहरीमा भेटिएकी धरान उपमहानगरकी तेस्रो लिङिगी दीपिका राई को भनाइ छ । ‘हामी पनि मानवनै हौ हामीले पनि यो समाजमा केही गर्छौ । तर सरकाले यस्ता अभियानमा समेटेर विभिन्न सिपमूलक तालिम प्रदान गरे सहज हुन्थ्यो ।’ उनले भनिन ।
यता इटहरी उपमहानगरपालिका भने तेस्रो लिङ्गीको सशक्तीकरणका लागि बजेटको व्यवस्था गरेको भए पनि कार्यक्रम सञ्चालन भने गर्न नसकेको बताउँछ । इटहरी उपमहानगरपालिकाकी उपमेयर तथा न्याइक समितिकी संयोजक लक्ष्मी गौतमले तेस्रो लिङ्गीका लागि कस्ता कार्यक्रम सञ्चालन गर्ने अन्योल रहेको बताउनु भयो । ‘मै पनि यस्ता कार्यक्रम मा सहभागी भएको छैन । कस्ता कार्यक्रम ल्याउने अन्योल छ ।’ गौतमले भनिन् ‘यस समस्यालाई समाधान गर्न छुट्टै उनीहरूसँगै सहकार्य गछौँ ।’
महिला पुरुष र तेस्रो लिङ्ग यी प्राकृतिक लिङ्ग हुन् । यो अपरीर्वतनिय कुरा हो । लिङ्ग कै आधारमा घर परिवार र समाजमा बस्न गाह्रो पारिएका लैङ्गिक हिंसा विरुद्ध नै सञ्चालन भएको अभियानको छातामा नअटाउनु अलिक अस्वाभाविक देखिएको छ । सानो जनसङ्ख्या भए पनि तेस्रो लिङ्गी यही समाजको एक अंश हुन् । स्थानिय सरकारको सरोकारमा तेस्रो लिङ्गीका मुद्दा पनि समान पुग्न जरुरी देखीन्छ ।





