नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टनको तेस्रो संस्करण आजबाट सुरु



१८ मंसिर २०७५, काठमाडौं

नेपाली खेलाडीले आफ्नै भूमिमा खेल्न पाउने सबैभन्दा ठूलो प्रतियोगिता नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टनको तेस्रो संस्करण मंगलबार (आजबाट) सुरु हुँदै छ ।

ब्याडमिन्टन एसियाको क्यालेन्डरमा उल्लिखित नेपालमा हुने योनेक्स सनराइज सिरिज एकमात्र अन्तराष्ट्रियस्तरको प्रतियोगिता हो । सिरिजमा नेपालसहित भारत, मलेसिया, अमेरिका, जर्मनी, फ्रान्स, थाइल्यान्ड, भियतनामलगायत २० देशका खेलाडीहरुको सहभागिता रहने बताईएको छ ।

शनिबारसम्म चल्ने प्रतियोगितामा ६१ महिला र १ सय १७ पुरुष खेलाडीले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट १६ पुरुष, १३ महिला खेलाडीको सहभागिता रहनेछ । पुरुष सिंगल्समा ७७, डबल्समा ३६ जोडी, महिला सिंगल्समा ४३, डबल्समा १८ जोडी र मिक्स्ड डबल्समा ३२ जोडीको सहभागिता रहने छ । हरेक स्पर्धामा अन्तिम १६ सम्म पुग्ने खेलाडीका लागि नगद पुरस्कार व्यवस्था छ ।

पुरुष र महिला सिंगल्स विजेताले ७ सय ५० अमेरिकी डलर तथा पुरुष, महिला र मिक्स्ड डबल्सको विजेता जोडीले ७ सय ९० डलर पुरस्कार पाउनेछन् । कुल पुरस्कार राशि अघिल्लो वर्षभन्दा ३ हजार बढाएर १० हजार डलर पुर्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्