अवार्ड बालोन डि‘ओर आज घोषणा हुँदै, पालो लुकाकै हो त ? कि कसले मार्ला बाजी ?



१७ मंििसर २०७५, काठमाडौं

विश्व फुटलबको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि‘ओर आज घोषणा हुँदैछ । आज फ्रान्सको पेरिसमा एक समारोहबीच यो अवार्ड प्रदान गरिने जनाईएको छ ।

फ्रान्स फुटबल फेडेरेसनले दिने यो अवार्डका लागि यसअघि टप–३० खेलाडीको सूची सार्वजनिक भइसकेको छ । आज टप–३० बाट टप–३ खेलाडीको घोषणा गरी उनीहरूमध्येबाट एकजनालाई यो अवार्ड दिइँदैछ । यसपटक यो अवार्डका लागि रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिकलाई प्रमुख दाबेदार मानिएको छ । त्यस्तै, उनीपछि युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि यस अवार्डका लागि दाबेदार मानिएको छ । यसपटक यो अवार्डका टप–३० सूचीमा रियल मड्रिडका खेलाडीको दबदबा छ । रियलले गत सिजन युरोपियन च्याम्पियन्स लगातार तेस्रोपटक जितकाले उसका धेरै खेलाडी टप–३० मा परेका हुन् । टप–३० मा रियलबाट मात्रै ८ जना खेलाडी पर्दा इंग्लिस टोली लिभरपुलबाट ४ जना परेका छन् ।

विश्व फुटबलमै पुरुष फुटबलतर्फ बालोन डि‘ओरलाई सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्ड सन् १९५६ देखि दिइँदै आएको छ । पछिल्लोपटक सन् २००७ मा ब्राजिलका काकाले यो अवार्ड जितेयता लगातार १० वर्ष बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी र रोनाल्डोले नै यो अवार्ड जित्दै आएका छन् । उनीहरूले समान ५–५ पटक यो अवार्ड जितेका छन् । पछिल्ला तीन सिजन रोनाल्डोले यो अवार्ड लगातार जितेका छन् । यसै वर्षदेखि महिला फुटबलतर्फ पनि बालोन डि‘ओर अवार्ड दिइँदैछ । यसअघि भने महिला फुटबलरलाई भने यो अवार्ड दिइँदैनथ्यो । यसपटक प्रमुख दाबेदार मानिएका मोड्रिकले गत वर्ष रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, क्रोएसियालाई विश्वकपको फाइनलसम्म लैजान पनि उनले कप्तानी भूमिकामा महत्त्वपूर्ण योगदान दिएका थिए ।

यता, रोनाल्डोले भने गत वर्ष रियललाई च्याम्पियन्स लिग जिताउन सनसनीपूर्ण प्रदर्शन गर्दै विभिन्न रेकर्ड राखेर निर्णायक भूमिका खेलेका थिए । गत वर्ष उनले लिगमा १५ गोल गरेका थिए । उनले लगातार ११ खेलसम्म गोल गरेर रेकर्डसमेत बनाएका थिए । त्यसैगरी, उनले रसिया विश्वकपमा पार्चुगललाई अन्तिम १६ सम्म लैजान सनसनीपूर्णं प्रदर्शन गरेका थिए । जहाँ उनले पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । उनले जम्मा ४ गोल गरेका थिए । गत वर्ष रियललाई क्लब विश्वकपको उपाधि जिताउन पनि रोनाल्डोले नै निर्णायक गोल हानेका थिए । रोनाल्डो यसै सिजनको सुरुमा रियल छाडेर युभेन्टस पुगेका थिए ।

मनोनयनमा परेका ३० खेलाडीहरुको सूची हेर्नुहोस्

–क्रिस्टियानो रोनाल्डो (युभेन्टस तथा पोर्चुगल)
–लिआनेल मेस्सी (बार्सिलोना तथा अर्जेन्टिना)
–लुका मोड्रिक (रियल मड्रिड तथा क्रोएसिया)
–इडेन हाजार्ड(चेल्सी तथा बेल्जियम)
–थियाबाउट कोर्टुवा (रियल मड्रिड तथा बेल्जियम)
–केभिन डि बु्रएन (म्यानचेस्टर सिटी तथा बेल्जियम)
–रोबर्ट फिर्मिनो (लिभरपुल तथा ब्राजिल)
–डिएगो गोडिन (एथ्लेटिको मड्रिड तथा उरुग्वे)
–ग्यारेथ बेल (रियल मड्रिड तथा वेल्स)
–करिम बेन्जिमा (रियल मड्रिड तथा फ्रान्स)
–सर्जियो अगुइरो (म्यानचेस्टर सिटी तथा अर्जेन्टिना)
–एलिसन बेकर (लिभरपुल तथा ब्राजिल)
–इडिसन काभानी (पिएसजी तथा उरुग्वे)
–इस्को (रियल मड्रिड तथा स्पेन)
–ह्यारी केन (टोटनह्याम तथा इंग्ल्यान्ड)
–कान्टे(चेल्सी तथा फ्रान्स)
–ह्युगो लोरिस (टोटनह्याम तथा फ्रान्स)
–मारियो मान्डुज्की (युभेन्टस तथा क्रोएसिया)
–साडियो माने (लिभरपुल तथा सेनेगल)
–मार्सेलो (रियल मड्रिड तथा ब्राजिल)
–केलियन एमबाप्पे (पिएसजी तथा फ्रान्स)
–नेइमार (पिएसजी तथा ब्राजिल)
–ओब्ल्याक (एथ्लेटिको मड्रिड तथा स्लोभेनिया)
–पाउल पोग्बा (म्यानचेस्टर युनाइटेड तथा फ्रान्स)
–इभान राकिटिक(बार्सिलोना तथा क्रोएसिया)
–सर्जियो रामोस (रियल मड्रिड तथा स्पेन)
–मोहमद सालाह (लिभरपुल तथा इजिप्ट)
–लुइस स्वारेज (बार्सिलोना तथा उरुग्वे)
–राफेल भारान (रियल मड्रिड तथा फ्रान्स)
–एन्टोनी ग्रीज्म्यान (एथ्लेटिको मड्रिड तथा फ्रान्स)

प्रतिक्रिया दिनुहोस्