गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन काठमाडौँमा शुरु



१४ मंसिर २०७५, काठमाडौँ

गैरसरकारी संस्था महासंघको नवौं राष्ट्रिय महाधिवेशन, २४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन सभामुख कृष्ण बहादुर महराले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले नागरिक समाजले पुलको भूमिका खेलेर राज्यलाई सहयोग गरेको बताउदै गैर सरकारी संथालाई आवश्यक पर्ने सामाजिक विकास ऐन संसोधन गरी अगाडि बढाउने बताए । अहिले हामीले भोग्नुपरेको हिंसा, अन्याय, असमानता तथा गरिवी लगायतका समस्या हाम्रो मात्र नभएर विश्वको साझा समस्या रहेको उनले प्रष्ट पारे ।

संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य २०३० लाई सफल पारेर रुपान्तरण गरि नेपालको मूहार फेर्नका लागि सरकार, संसद, राजनीतिक दल, नीजि क्षेत्र, अन्तरार्ष्ट्रिय संघ संस्थाहरुले साझा अभियान बनाई लागु गर्नुपर्ने बताए ।

अन्तराष्ट्रिय गैसस नेटवर्क (एआइएन) का अध्यक्ष डा शिवेशचन्द्र रेग्मीले गैर सरकारी संस्थाले देश विकासमा सहयोग गरेको बताउँदै विकासका सूचकहरु अगाडी बढिरहेको बताउँदै यस क्षेत्रमा अझ धेरै काम गर्नु पर्ने बताए ।

गाउँपालिका महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले गैससहरुलाई आवश्यक सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन, राष्ट्रिय योजना आयोग लगायत मानव अधिकारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

गैसस महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालको अध्यक्षतामा भएको सम्मेलन मंसिर १४ र १५ मा भई सम्मेलनले नयाँ नेतृत्व समेत छनौट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्