खाँदबारी अस्पतालमा महिना दिनपछि प्रसूति सेवा सुचारु



११ मङ्सिर २०७५, खाँदारी

एक महिना अघिबाट बन्द रहेको खाँदबारी अस्पतालको प्रसूति सेवा आइतबारबाट सुचारु भएको छ । निक साइमन नामक संस्थाले सुरक्षित मातृत्व गराउन जिल्ला अस्पताल खाँदबारीमा राखेको चिकित्सक दुई जना मध्ये एकजना चिकित्सकको समयावधि सकिएको र एकजना घर विदामा बसेपछि प्रसूति सेवा दशैँ अघिबाट ठप्प भएको थियो ।

निक साइमन संस्थाले राखेको चिकित्सक डा. युवराज बस्नेत दशैँ अघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडिसकेका थिए । प्रसूति सेवा बन्द भएको एक महिनापछि मात्र निक साइमन संस्थाले डा. अनामिका मिश्रलाई जिल्ला अस्पताल संखुवासभामा खटाएको छ । प्रसूति चिकित्सक डा. अनामिका आइतबारबाट हाजिर भएपछि सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिए ।

२४ सै घण्टे प्रसूति सेवा सुचारु भएपछि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता हटेको छ । निक साइमन संस्थाले सुरक्षित मातृत्व गराउन राखेको अर्को चिकित्सक डा. शैलिका श्रेष्ठ कात्तिक ३० गते अस्पतालमा हाजिर हुने भनिए पनि अहिलेसम्म हाजिर हुन सकेकी छैनन् ।  २४ स ैघण्टे प्रसूति सेवा पुनः संचालनमा आएपछि काठमाडौं, विराटनगर, धरान जानुपर्ने बाध्यता हटेको छ ।

प्रसूति सेवा लिन जिल्ला अस्पतालमा दैनिक ५ देखि ७ जनासम्म सेवाग्राही आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । प्रसूति सेवा लिन जिल्लाका विभिन्न स्थानबाट आइतबार मात्र पाँचजना सेवाग्राही आएको अस्पतालका प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्