१५ औँ एशियन प्यासिफिक सितोरियो च्याम्पियनसिपमा नेपालको स्थान चौंथो



११ मंसिर २०७५, काठमाडौं

नेपालले इण्डोनेसियाको जकार्तामा सम्पन्न १५ औँ एशियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप २०१८ मा चौथो स्थान प्राप्त गरेको छ । एशियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा ३० राष्ट्रले भाग लिएका थिए । प्रतिस्पर्धामा नेपाल आफ्नो दुई स्वर्ण र तीन कास्यसहित चौथो स्थान हासिल गरेको बताईएको छ ।

इण्डोनेसियाले १७ स्वर्णसहित पहिलो स्थानमा कब्जा जमाएको छ । १६ स्वर्णसहित जापानले दोस्रो र चाइनिज–ताइपेले ८ स्वर्णसहित तेस्रो स्थान हासिल गरेको छ । नेपालका तर्फबाट विजयी श्रेष्ठ र गणेशबहादुर थिङले १–१ गरी दुई स्वर्ण पदक हासिल गरेको महर्जनले बताए । दिगम्बर पन्त, अनिश लामा र पर्शुराम बास्तोलाले कास्य पदक हासिल गरेका थिए । स्वर्ण र कास्य गरी नेपालले पाँच वटा पदकमा चित्त बुझाएको छ ।

प्रतियोगितामा इरान, मलेसिया, कोरिया र थाइल्याण्ड सहभागी भएका थिएनन् । एसियामा कराते खेलामा इरान र मलेसिया शक्तिशाली देश मानिन्छन् । अन्तर्राष्ट्रिय रेफ्री एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको नेतृत्वमा रेफ्री, प्रशिक्षक र खेलाडीहरूको टोली मंसिर ४ गते जकार्ता प्रस्थान गरेको थियो । प्रतिस्पर्धामा धेरै देशहरुले खाता समेत सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्