अरुण तेस्रो : संखुवासभामा ट्रान्समिसन लाइनको ४३ टावर



११ मङ्सिर २०७५, संखुवासभा

संखुवासभामा निर्माणाधिन बहुचर्चित राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत आयोजनाको ट्रान्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, मोहत्तरी हुदै भारत पुग्ने भएको छ ।

ट्रान्समिसन लाइनको नेपालका ७ जिल्लामा ५ सय १ टावर रहने नक्सांकन भएको सतलज कम्पनीले जनाएको छ । जसअनुसार संखुवासभा ४३, भोजपुर ७९, खोटाङ ६५, उदयपुर एक सय ३०, सिराहा २६, धनुषमा ७२, मोहत्तरी ९५ वटा टावर रहने सतलज कम्पनीका ड्युटी जनरल मेनेजर विक्रम मोदगिलले जानकारी दिए ।

ट्रान्समिसन लाइन संखुवासभा जिल्लाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट  सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयले बेंशी हुँदै भोजपुरको षडान्नद नगपालिका, साल्पा सिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैजुङ गाउँपालिका हुँदै खोटाङ पुग्ने आयाजनाले जनाएको छ । खोटाङको साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै हलेसीको तुवाचुङ नगरपालिकको राजापानीबाट उदयपुर जिल्लाको  लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिका, कटारी नगरपालिका हुँदै सिराहा पुग्नेछ । सिरहा पुगेपछि पूर्वपश्चिम राजमार्ग हुँदै महोत्तरीबाट ट्रान्समिसन लाइनको रुट भारत पुग्ने आयोजनाले जनाएको छ ।

अरुण तेस्रो आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणका काम सकिएको आयोजनाले जनाएको छ । संखुवासभामा दुई अर्ब भन्दा माथि रकम मुआब्जा बाँडि सकिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारले बताए । प्रजिअ अधिकारीका अनुसार ड्याम साइड, पावर हाउस, क्याम्प, अडिटर, सडकको मुआब्जा दिइसकेको भए पनि ट्रान्समिसन लाइनको जग्गा अधिग्रहण गर्ने र मुआब्जा दिन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्