पाँचखपन नगरपालिकाको गाडी दुर्घटनाको छानबिन सुरु



०९ मङ्सिर २०७५, इटहरी

स्थलगत अनुगमन गर्ने टोली सुनसरी आईपुग्यो

गत कात्तिक १५ गते राति पाँचखपन नगरपालिकाको गाडी दुर्घटनाको बारेमा छानबिन सुरु भएको छ । नगर उपप्रमुख भीमादेवी राईको संयोजकत्वमा सात सदस्यीय टोली स्थलगत अनुगमनका लागि शुक्रबार सुनसरीको भण्टाबारी प्रस्थान गरेका छन् ।

छानबिन टोलीमा उपप्रमुख राई, वडा नम्बर १ का अध्यक्ष टेक बहादुर बुढाथोकी, वडा नम्बर २ का अध्यक्ष उत्तम दाहाल, वडा नम्बर ३ का अध्यक्ष शुक्रराज खालिङ राई, वडा नम्बर ७ का अध्यक्ष कृष्ण खड्का, वडा नम्बर ८ का अध्यक्ष छत्र न्यौपाने र न्यायिक समिती सदस्य सीता तामाङ रहेका छन् ।

कात्तिक १५ र १६ गते धनकुटामा भएको विपत् व्यवस्थापनको तालिममा सहभागी हुन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर श्रेष्ठ र नायव सुब्बा प्रेमबहादुर श्रेष्ठले लिएर गएको बा १ ज ५४० नम्बरको गाडी १५ गते सुनसरीमा दुर्घटनामा परी चालक सुजन थापा घाइते भएका थिए । धनकुटासम्म जाने अनुमति लिएको गाडी रहस्यमय ढंगले सुनसरीको भण्टाबारीमा कात्तिक १५ गते राति १२ बजे दुर्घटना हुनु शंकास्पद भएकाले छानबिन थालिएको नगर उपप्रमुख राईले बताइन् । नगरपालिकाका दुई कर्मचारीका साथमा धनकुटा लगिएको गाडी कसरी सुनसरीको भण्टाबारीमा दुर्घटनामा र्पयो भन्दै सामाजिक सञ्जालमा समेत चर्को आलोचनाका साथै चौर्तफी विरोधसमेत भएको थियो ।

दुर्घटना कसरी भयो, के कामका लागि गाडी सुनसरी पुग्यो यस बारेमा चालक थापासँग इटहरीमा भेटेर कुरा गरिने उपप्रमुख राईले जानकारी दिएकी छिन् । उता चालक थापाले आफू व्यत्तिगत काममा नभई कार्यालयकै काममा काठमाडौं जाने क्रममा साइकल यात्री जोगाउन खोज्दा दुर्घटनामा परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्