
०७ मङ्सिर २०७५, संखुवासभा
संखुवासभाको चैनपुर नगरपालिका–८ वानेश्वरमा भूकम्प मापन केन्द्र स्थापना गरिने भएको छ । खानी तथा भूगर्व विभाग सँगको सहकार्य र चिन सरकारको लगानीमा मापन केन्द्र स्थापनाको काम सुरु भएको हो ।
मापन केन्द्र स्थापनाको लागि बिहिबारबाट काम सुरु भएको छ । चीन सरकारको लगानीमा भूकम्प मापन केन्द्र स्थापनाको काम सुरु भएको वडा नम्बर ८ का अध्यक्ष भरत खड्काले जानकारी दिए ।
चीन सरकारले देश भरका विभिन्न १० स्थानमा भूकम्प मापन केन्द्र स्थापनाको काम भइरहेको खानी तथा भूगर्वविद नविन घिसिङले जानकारी दिए । भूगर्वविद नविनका अनुसार मापन केन्द्र स्थापना भएपछि भूकम्प मापनको बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौबाट तत्कालै जानकारी लिन सकिने छ । प्रदेश नं. १ अन्तर्गत यसअघि ताप्लेजुङ र उदयपुरमा केन्द्र स्थापना भइसकेको छ भने हाल सोलुखुम्बु सहित पुर्वका ४ जिल्लामा केन्द्र स्थापना गर्ने तयारी रहेको छ ।
उनले भने चिनियाँ सरकारको लगानीमा हालसम्म ४ वटा मापन केन्द्र पश्चिममा स्थापना भइसकेको र अन्य ६ स्थानमा स्थापनाको अन्तिम चरणमा रहेको बताए । १ करोडको लागतमा निमार्ण थालिएको भूकम्प मापन केन्द्र दुई हप्तामा निमार्ण सम्पन्न भइ सक्ने खानी तथा भूगर्वविद घिसिङले जानकारी दिए । नेपालमा २१ स्थानमा केन्द्र स्थापना भईसकेको छ भने १० केन्द्रहरु निर्माणको चरणमा रहेको छ ।





