
०४ मंसिर २०७५, काठमाडौं
एसियाली विकास बैंक (एडिबीले) ३४ करोड ३९ लाख अमेरिकी डलर करिब (३९.३२) अर्ब रुपैयाँ ऋण तथा अनुदान सहयोग स्वरुप नेपाललाई उपलब्ध गराउने भएको छ ।
उक्त रकम दुई वटा विकास परियोजना सञ्चालनमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । एडिबीले उक्त रकममध्ये १८ करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग अन्तर्गत राजमार्ग स्तरोन्नति परियोजनाको लागि उपलब्ध गराउने छ ।
यो रकम एडिबीले सहुलियतपूर्ण ऋणको रुपमा नेपाललाई उपलब्ध गराउने छ । एडिबीले सहयोग गर्ने दोस्रो परियोजना हो– प्रकोपबाट भत्तेका विद्यालयको पुनर्निर्माण । यो परियोजनालाई एडिबीले १६ करोड ३९ लाख अमेरिकी डलर उपलब्ध गराउने छ, जसमध्ये १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १ करोड ५० लाख अमेरिकी डलर अनुदान सहयोग स्वरुप उपलब्ध गराउने छ ।
राजमार्गको स्तरोन्नति गर्न दिइएको रकम कञ्चनपुर र कमलाको बीचमा पर्ने पूर्व–पश्चिम राजमार्गको ८७ किलोमिटर सडकको मर्मत संहार तथा विस्तारमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त सहयोग नेपाललाई उपलब्ध गराउने सम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयका पदाधिकारी र एडिबीको पदाधिकारीबीच हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडिबीको तर्फबाट नेपालको लागि कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका थिए ।





