
०४ मंसिर २०७५, काठमाडौं
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य प्रगतिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका हुन् ।
आयोजनाको कुल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागतसमेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गरेका हुन् । आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन सुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिएका छन् ।
सुरुमा आयोजनाको लागत ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत बढेर ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । त्यसमा लागत अवधिको ब्याजसमेत जोडिएको छ ।
आयोजनाको भौतिक निर्माणको काम करिब करिब सकिने अवस्थामा पुगेको भए पनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदँदा विद्युत् उत्पादन मिति नै पर सर्न पुगेको छ ।
सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ । लामोसाँघु–जिरी सडकखण्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजना स्थल पुग्न सकेको छैन ।
आयोजनाको लागत ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत बढेर ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएकोआयोजनाको सुरुङभित्र रहेका दुईवटा ठाडो सुरुङमा पाइप जडान गर्ने काम पूर्ण हुन सकेको छैन । आयोजनाले आगामी असारमा परीक्षण उत्पादन सुरु गर्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन सुरु गर्ने कार्यतालिका तय गरिएको थियो ।
मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजना स्थलमै समस्या समाधान गर्ने तयारी गरेका छन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललाई मिलाएर काम गराउने तयारीमा आफूहरू लागेको जानकारी दिए ।
हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेलम्याको रहेको छ भने इलेक्ट्रोमेकानिकलको जिम्मा एन्ड्रिज हाइड्रोको रहेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ५९ वटा पाइप प्राधिकरणको सुनकोसी विद्युत् गृहमा रहेको छ ।
‘आयोजनालाई गति दिने र तोकिएको समयमा नै सम्पन्न गराउने तवरले मन्त्रीज्यूले चासो दिनुभएको हो, त्यसलाई सहज रूपमा लिँदै आयोजना स्थलमा देखिएको समस्या समाधानका लागि हामी प्रतिबद्ध भएर लागेका छौं,’ प्रवक्ता डा. न्यौपानेले भने ।





