डेलिभरीका लागि मन्त्री आफैँ साइकलमा पुगिन् अस्पताल !



न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।

साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् । उनी साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन् ।

“मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ।

उनले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छिन् । उनी दिगो यात्राका अभियन्ता पनि छन् ।

उनको ग्रीन पार्टीकी एक जना प्रवक्ताका अनुसार सोमबार साँझसम्म उनको बच्चा जन्मिएको छैन तर उनी प्रतिक्षारत छिन् ।

यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति विदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ ।

गत वर्ष निर्वाचित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिइन् । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्