मुलुकमा पहिलोपटक पुरुष दिवस मनाइयो



०३ मंसिर २०७५, ललितपुर

स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक आज अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ । सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुर्व्यवहारका समस्या समाजमा लुकि बसेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुष दिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताउनु भयो ।

पुरुष दिवस महिलाको अधिकारलाई संकुचीत पार्नका लागि नभई महिलाको अधिकार हनन नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेको यौन दुर्व्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजना गरिएको संयोजक ठकुरीले बताउनु भयो । एक दिन नारी दिवस र बाली ३६४ दिन पुरुष दिवस भन्नु गलत हुन्छ । नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस हुन् तर कुनै एक दिन उनीहरुलाई लागि छुट्याउनु भनेको राज्यले उनीहरुको सहभागिता र आवश्यकतालाई सम्बोधन गरेको भनी हामी बुझ्नु पर्ने कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व प्रधान न्यायधिस र UN Men Leads Network का सदस्य कल्याण श्रेष्ठले बताउनु भयो । नेपालको कानूनले महिलालाई जबरजस्ती करणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भए पनि उस्तै दण्डको व्यवस्था गरेको बताउनु हुँदै तर पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुर्व्यवहार र हिंसाका घटना बाहिर नआइरहेको अवस्था बारे बताउनु भयो । नेपालमा बालक माथि हुने हिंसा र दुर्व्यवहारको कुनै निश्चित तथ्यांक नभए पनि यस्तो अवस्था भने डरलाग्दो छ । खासगरी पछिल्लो समय अमेरिकी, क्यानेडियन, राष्ट्र संघीय निकायकै कर्मचारीहरु पनि बालक माथि यौन दुर्व्यवहारको घटनामा पक्राउ परेपश्चात यस बारेमा छलफल हुन थालेपनि हुनुपर्ने जति बहस अझै थालनी भइसकेको छैन । वरिष्ठ पत्रकार तथा नेपाल टलिभिजन विकास बोर्डका सदस्य टंक पन्तले एक अध्ययन अनुसार झण्डै एक चौथाई पुरुषहरु हिंसा र दुर्व्यवहारको शिकार हुने गरेको तथ्य उजागर गर्नु भएको थियो ।

सन् १९६० को दशकबाट सुरु भएको पुरुष दवसको आवश्यकताको बहस सन् १९९३–१९९४ मा मिसौरी–कन्सास विश्वविद्यालय अन्तर्गतको मिसौरी पुरुष अध्ययन केन्द्रका निर्देशक थोमस ओस्टरको नेतृत्वमा फ्रेब्रुअरी २३ मा पुरुष दिवस भव्यताका साथ मनाउन सुरु गरिएको थियो । तर त्यसपछाडि यो दिवस मनाउन छाडिएकोमा सन् १९९९ मा ट्रिनिडाड टेंगो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तेलकसिंले १९ नोभेम्बरलाई अन्तराष्ट्रिय पुरुष दिवसको रुपमा मनाउन सुरु गरे र यसलाई विश्वव्यापी पनि बनाए । दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने यसैवर्ष देखि मनाउन थालिएको छ । विश्वमा चिन, अमेरिका, वेलायत, सिंगापुरु, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटाली लगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ । यस वर्ष संसारभर पोजेटिभ मेल रोल मोडल्स अर्थात् आदर्श पुरुषहरु भन्ने नाराका साथ मनाइरहँदा नेपालमा #MeToo अन्तर्गत नेपाली बालक र किशोरका दुर्व्यवहार र बलात्कारका विषय पनि उत्थान हुनुपर्ने सोचका साथ “किनकी बालक पनि दुर्व्यवहारमा पर्छन्” भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

जावलाखेलबाट आज विहान ८ बजे सुरु भएको पदयात्रा मंगलबजारमा कोणसभामा परिणत भएर समापन भएको थियो । फेस पेन्टिङ, कविता वाचन, लैंगिक हिंसा विरुद्धको रातो रिबन कार्यक्रम र ऐक्यकद्दता मन्तब्य रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी रुपेश श्रेष्ठ र बालअधिकारकर्मी त्रिवेणी कुमार यादवले कविता वाचन गरेका थिए भने अधिकारकर्मी कविता शाहले नेपालमा बालकमाथि हुने यौन दुर्व्यवहारको अवस्थाबारे प्रकास पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्