
०२ मंसिर २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका महिला, बालबालिका र जेष्ठ नागरिक शाखा, संघसंस्था समन्वय समितिको आयोजना, बालबालिका स्याहार क्लबको सह–आयोजना र गैर सरकारी संस्था महासंघ समन्वय शाखाको संयोजनमा बालगृह संचालकहरुका लागि बाल संरक्षण नीति सम्बन्धमा दुई दिने कार्यशाला किङ्स क्याफेमा सम्पन्न भएको छ ।

कार्यशाला गोष्ठीमा बूढानीलकण्ठ नगरपालिका भित्र संचालित २८ बालगृहका संचालकहरुको सहभागिता रहेको थियो । गैसस महासंघ समन्वय शाखाका संयोजक प्रदीप डंगोलको संयोजनमा भएको कार्यक्रममा प्रशिक्षक रमेश कुमार पौडेलले बालगृहसंग सम्बन्धित कानुनी तथा संविधान प्रदत्त ऐन नियमावली विषयमा जानकारी गराएका थिए । कार्यशालामा बाल संरक्षण नीतिको मस्यौदा समेत गरिएको थियो ।

समूहगत छलफलमा आधारित कार्यशालामा बूढानीलकण्ठ नगरपालिकाले बाल वडापत्र बनाउनुपर्ने, बालमैत्री पार्क बनाउनुपर्ने, वालवालिकाको लागि नैतिक शिक्षाको व्यवस्था गर्नुपर्ने, वालगृहहरुमा संरक्षित वालवालिकालाई स्थानीय नीजि तथा सार्वजनिक विद्यालयमा निःशुल्क पढ्ने वातावरण बनाउनुपर्ने, स्थानीय सरकारी स्वास्थ्य संस्थाहरुले वालगृहमा संरक्षित वालवालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गराईदिनुपर्ने लगायतका विषय माग गरेका थिए ।

दुई दिने कार्यशाला गोष्ठीको समापन मन्तव्यमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरपालिकाको साधन र स्रोतले भ्याएसम्म वालगृहहरुलाई सहयोग गर्ने बताउँदै निःशुल्क स्वास्थ्य शिक्षाको विषयमा कार्यपालिकामा छलफलको लागि लगिने प्रतिवद्धता व्यक्त गरे ।






