दिन अनुकूल छैन र रात अलावा छ भने यी कुराहरु ध्यान राख्नुहोस्…



०२ मङ्सिर २०७५, काठमाडौं

हाम्रो जीवनशैलीसँगै हाम्रो काम गने तरिका पनि तिब्र गतिले परिवर्तन आइरहेको छ । यो दौडधूप र प्रतिस्पर्धाको समयमा मानिसले आफुलाई भीडसँगै उभ्याउनका लागि प्रकृतिको नियमलाई तोडेर अघि बढिरहेका छन् । दिन काम गर्नका लागि र रात शरीरलाई आराम दिने प्रकृतिको नियमबाट बाहिर रहेर अहिले मानिसले दुवै समयलाई आफु अनुकूल बनाएका छन् ।

रात्री ड्युटी दिनको तुलनामा निकै छोटो हुन्छ । त्यसकारण मानिसहरु रात्री शिफ्टमा काम गर्न कुनै अप्ठ्यारो मान्दैनन् । तर यो स्वास्थको दृष्टिकोणले त्यतिकै हानिकारक हुन्छ ।

वासिङटन स्टेट विश्वविद्यालयको शोधले रात्री सिफ्टमा काम गर्ने मानिसहरुमा मुटु सम्बन्धि बिरामी र क्यान्सरको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताहरुको अनुसार यसको सबैभन्दा नराम्रो असर मानिसको पाचन प्रणालीमा पर्छ । शरीरलाई आराम चाहिएको समयमा यदि हामी बसेर काम गरिरहेका छौं वा खाइरहेका छौं भने यसले मधुमेह र मोटोपनाको सम्भावना बढाउँछ ।

रातको समयमा काम गर्नाले मस्तिष्कलाई पर्याप्त आराम पुग्दैन । यो पछि गएर मस्तिष्कघातको कारण पनि बन्न सक्छ । यदि तपाई पाँच वर्षभन्दा धेरै रात्री शिफ्टमा काम गर्दै हुनुहुन्छ भने तपाईको मस्तिष्क सामान्यको तुलनामा ६.५ वर्ष धेरै बुढो हुनसक्छ । यसले त्यस्ता मानिसको सोच्ने, सम्झिने क्षमतालाई कमजोर बनाउँछ ।

मानिसको मस्तिष्कमा केही हजार यस्ता कोशिकाहरु हुन्छन् जहाँ हाम्रो शरीरको मुख्य जैविक घडी हुन्छ । त्यस्ता जैविक घडीले मानिसलाई कहिले सुत्ने, कहिले उठ्ने, खाना पचाउनका लागि कलेजोलाई कहिले इन्जाइम उत्सर्जन गराउने जस्तो कुराहरु निर्धारण गर्छ । जैविक घडीले मुटुको धड्कनलाई पनि नियन्त्रण गर्छ । रातको समयमा काम गर्ने मानिसको हकमा यो घडीले ठीकसँग काम गर्न सक्दैन । यसको परिणामस्वरुप गम्भिर विमारीहरुको खतरा बढ्न सक्छ ।

यदि तपाईको समय दिनमा अनुकूल छैन र रात अलावा अन्य विकल्प छैन भने यी कुराहरु ध्यानमा राख्नु होस् ।

१.दिनमा सुत्ने समयमा पर्याप्त अँध्यारो राख्नुहोस् ।

२.सुत्नका लागि शान्त स्थान खोज्नुहोस् ।

३.राती ड्युटी जान अघि एक घण्टा छोटो सुत्ने समय लिनुहोस् ।

४.राती काम गर्दा चक्लेट, जंकफुडको सट्टा सलाद वा फल सेवन गर्नुहोस् ।

५.राती काम गर्दा चिया, कफि वा चिसो पेय पदार्थ लिनबाट बच्नुहोस् ।

६.ड्युटी सकेर बिहान घर पुगेपछि खाली पेट नसुत्नुहोस् ।

७.निद्रा आएन भने मद्यपान वा औषधीको सेवन नगर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्