
३० कार्तिक २०७५, इटहरी
दिनदुखी बालवालिकाहरुलाई आश्रय प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरी ८ मा बाल आश्रम निर्माण हुने भएको छ । पाथिभरा आमा भक्ति सेवा संस्था नेपालले दिनदुखी बालबालिकाहरुको संरक्षण गर्ने उद्देश्यले निर्माण गर्न लागेको आश्रमको लागि शिलान्यास गरिएको छ । आश्रमको जग्गादाता नारायण चौधरी र उर्मिला चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
आश्रम निर्माणका लागि नारायण चौधरी र उर्मिला चौधरीले इटहरी ८ गैसारमा १० धुर जग्गा उपलव्ध गराएको र आश्रम निर्माणका लागि शिलान्यास गरिएको पुराण व्यवस्थापन समितिकी अध्यक्ष दिपा राईले जानकारी दिइन । दासी मोनिका कटुवाल संरक्षक रहने गरी स्थापना गरिएको पाथिभरा आमा भक्ति संस्था नेपालले समाजमा रहेका दिनदुखी, गरिव दुखी ,असाहय वृद्ध , अनाथ आर्थिक अवस्था कमजोर भएकाले लागि शिक्षा ,स्वास्थ्य नपाएका ब्यक्तिहरुलाई सेवा पुर्याउने उद्देश्य रहेको जनाइएको छ ।
आश्रम निर्माण सहयोगार्थका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञका क्रममा चौधरीहरुले आश्रम निर्माणका लागि जग्गा प्रदान गरेका थिए । त्यसै गरी झापाको गौरादहमा टिका खनालले एक कठ्ठा र मोरगंको केरावारीमा चन्द्रवहादुर कटुवालले एक कठ्ठा जग्गा उपलव्ध गराउने भएको समेत पुराण व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी राईले वताइन ।





