सहिद स्मारक ए डिभिजन लिग शनिबारबाट पुःन सुरु हुँदै



३० कार्तिक २०७५, काठमाडौं

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणका खेलहरु शनिबारदेखि सुरु हुँदैछन् । दशैंअघि पहिलो चरणको खेल सकिएपछि स्थगित लिग शनिबारदेखि सुचारु हुन लागेको हो । शनिबार लिगअन्तर्गत दुई खेल हुनेछन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङदी क्लब र न्यू रोड टिम (एआरटी) बीच प्रतिस्पर्धा हुने छ ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्नेछन् । च्यासल र आर्मीको खेललाई दोस्रो चरणको मुख्य खेलको रुपमा पनि हेरिएको छ । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको यी दुई टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए । हरेक दिन पहिलो खेल ११ बजे र दोस्रो खेल २:३० बजे सुरु हुनेछ । आइतबारका दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछन् । पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्नेछ । दोस्रो खेलमा दुई ललितपुरे क्लब थ्री स्टार र ब्रिगेड ब्वाइज आमनेसामने हुनेछन् । सोमबार तीन खेल हुनेछ । पहिलो खेल एन्फा कम्प्लेक्समा जावलाखेल र संकटाबीच हुनेछ । एन्फामै हुने दोस्रो खेलमा फ्रेन्ड्स र एपीएफ भिड्नेछन् । हल्चोकमा हुने २:३० बजेको खेलमा सरस्वति र हिमालयन शेर्पा खेल्नेछन् ।

एन्फाले हाल दशौं चरणको खेलसम्म मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिका बाँकि तीन चरणको खेल तालिका भने पछि सार्वजनिक हुनेछ । पहिलो चरणको खेल सकिंदा उपाधि दावेदार मानिएका मनाङ, थ्री स्टार र पुलिसले विजयी सुरुवात गरेका छन् । संकटाले पनि अन्तिम मिनेटको गोलसँगै ३ अंक जोडेको छ । उपाधि होडमा दावेदारी प्रस्तुत गरेका आर्मी र च्यासलले आ–आफ्नो खेलमा अंक बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्