
३० कार्तिक २०७५, पर्वत
नागरिकता प्रमाणपत्र दिन श्रीमान्ले नमान्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएको छ । सेती परियारका श्रीमान् गोविन्द दमाईंले पालनपोषण र रेखदेखमा सहयोग नगरी घरेलु हिंसा खेप्दै आएकी परियारले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको हो ।
नेपाली नागरिकता प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट बञ्चित भएकी सेती परियारलाई उनका ससुरा ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गरेका हुन् । पीडित सेती परियारले आफू श्रीमानबाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको बताएपछि गत कार्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधिसमक्ष सहयोगका लागि निवेदन दिइएको थियो । उनको निवेदनका आधारमा जलजला गाउँपालिका–७ धाइरिङका वडाध्यक्ष टुङ्गनाथ शर्मासमक्ष सिफारिश दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसमक्ष पटकपटक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए ।
थापाका अनुसार जिल्ला प्रशासन कार्यालय पर्वतले सेती परियारलाई कार्तिक २९ गतेको मितिमा नेपाली नागरिकता प्रमाणपत्र जारी गरी प्रमाणपत्र प्रदान गरिएको छ । नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका खुलेको भन्दै खुशी व्यक्त गरे ।
जलजला गाउँपालिका–७ साविकको धाइरिङ गाविस–३ माइतीघर भई सोही स्थानमा घर भएका ३२ वर्षीय गोविन्द दमाईंसँग २०५८ मङ्सिर २२ गते सामाजिक परम्पराअनुसार विवाह गरेकोे थियो । उनको १३ वर्षीय छोरा रुद्र र तीन वर्षीय छोरा सुरज परियार छन् । मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरु एक वर्षअघि दोस्रो विवाह गरेर श्रीमानले दोस्रो श्रीमती घरमा ल्याएपछि उनी घरेलु हिंसाको सिकार बन्दै गएको थियो । श्रीमान् गोविन्द परियारले बुधबार नै वडा कार्यालय धाइरिङमा पुगेर श्रीमतीलाई पालनपोषण र रेखदेखमा कुनै विभेद नगर्ने भन्दै लिखितरुपमा प्रतिबद्धतासमेत जनाएका छन् ।





