नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै



३० कार्तिक २०७५, काठमाडौं

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि–१० लिग खेल्दैछन् । इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग , ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्थान प्रिमियर लिग यसपछि नै खेलिसकेको सन्दिपले टी–१० खेल्न लागेका हुन् ।

आगामी नोभेम्बर २१ तारिक देखि सुरु हुने टि–१० लिगमा सन्दिप केरला किंग्सबाट खेल्नेछन् । किंग्सले २१ तारिकमा शहिद अफ्रिदी आइकन खेलाडी रहेको पख्तुनको सामना गर्नेछ । गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो ।
प्रतियोगितामा सहभागी हुन सन्दिप नोभेम्बर १८ तारिकमा युएई प्रस्थान गर्ने सन्दिपका नेपाल ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन् । शिवाकोटीले युएई प्रस्थान गर्नु अघि सन्दिपसंग कुराकानीको लागि पत्रकार सम्मेलन आयोजना गर्ने समेत बताए । सन्दिपको टिम केरला किंग्समा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन् ।

यस्तै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन् । केरला किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्