राजनीतिक स्थायीत्वसँगै नेपाल अब आर्थिक समृद्धिको यात्रामा : महासंघ अध्यक्ष सिंह



२९ कार्तिक २०७५,काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताउनु भएको छ । मलेसियाको क्वालालामपुरमा एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संस्था (इफाप्का) को ४४ औं सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नेपालको अबको लक्ष्य आर्थिक समृद्धि भएको बताए ।

नेपाल सरकार समेत समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणा सहित अघि बढिरहेको जानकारी दिँदै सिंहले समृद्ध नेपाल बनाउन निर्माण उद्योगको भूमिका महत्वपूर्ण रहने बताए । भौतिक पूर्वाधारको विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा राजनीतिक दलहरुको पनि पूर्ण साथ रहेको सिंहको भनाइ थियो । भौतिक पूर्वाधारको क्षेत्रमा विकास गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आय स्तर भएको मुलुक बनाउने तयारीमा सरकार लागेको उहाँले जानकारी दिए ।

अध्यक्ष सिंहले आफ्नो लक्ष्यप्राप्तिका लागि सरकारले सार्वजनिक निजी साझेदारीको अवधारणालाई प्राथमिकता दिएको  बताए । यसैबीच सम्मेलनबाट इफाप्काको प्रथम उपाध्यक्षमा रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन भएका छन् ।  महासंघका पूर्व अध्यक्ष भइसकेका शर्मा र लामिछाने दुवै हाल महासंघका सल्लाहकार हन् । त्यस्तै इफाप्काको बोर्ड सदस्यमा विरेन्द्रराज पाण्डे चयन भए । । सम्मेलनमा सहभागी हुन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार मलेसिया गएको थियो ।

सम्मेलनमा सहभागी भएपछि नेपाली प्रतिनिधिमण्डलले मलेसिया सहित सिंगापुर र इण्डोनेशियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धीको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ । (इफाप्का) को ४६ औं सम्मेलन नेपालमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्