
२८ कार्तिक २०७५, सुनसरी
छठ पर्वको तेस्रो तथा मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सन्ध्या अर्घ्य दिएका छन् ।
सुनसरीको बुढीगंगा मुक्ती धाम क्षेत्र, झुम्का नहर, खनार नहर साथै विभिन्न नदी तथा तलाउमा बनाईएका घाटमा मंगलबार साँझ अस्ताउदो सूर्यलाई श्रद्धालुले एकसाथ अर्घ्य दिएका हुन् ।
सामाजिक पर्वको रुपमा परिचित रहेको यसपर्वमा नदी तथा तलाउ बेहुलि जस्तै सिगारीएका छन् । कतिपय ठाउँमा रातभरि नै जाग्राम बस्ने भएकोले मनोरञ्जनको लागि नाच, नौटंकीको समेत व्यवस्था मिलाइएको छ । त्यस्तै घाटमा बत्ती, टेन्ट, पण्डालको समेत व्यवस्था गरिएकोले स्थानीयहरु रातभरि नै पूजास्थलमै बस्ने भएका छन् । बुढीगंगा क्षेत्रमा नेपालि काँग्रेसका उप सभापति बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा औपचारीक कार्यक्रम आयोजना भईरहेको छ ।
छठ पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने परम्परा अनुसार अर्घ्य दिइएको हो । तराईमा यस विधिलाई साँझको अर्घ्य अर्थात ‘सझुका अर्घ्य’ भनिन्छ ।
पोखरी, इनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ । बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अर्घ्य’ भनिन्छ ।
भागवान सूर्य देवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, दूध, माटोको हात्ती, ढकनी, चढाउने परम्परा रहेको छ । त्यस्तै छठको अन्तिम दिन अर्थात भोलि एकाबिहानै उदाउदो सूर्यलाई अर्घ्य दिएर छठपर्वको समापन गरिने भएको छ ।





