खेलाडी र प्रशासनबीच विद्यमान दूरी घटाउनु आफ्नो पहिलो मेरो पहिलो प्राथमिकता हो : राखेप उपाध्यक्ष तिम्सिना



२८ कार्तिक २०७५, काठमाडौं

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलाडी र प्रशासनबीच विद्यमान दूरी घटाउनु आफ्नो पहिलो प्राथमिकतामा रहने बताएका छन् ।

आगामी ४ वर्षका लागि उपाध्यक्ष पदमा नियुक्त भएका तिम्सिनाले वर्तमान अवस्थामा परिषद् र खेलाडीबीच रहेको असन्तुलित दूरी घटाउन पदाधिकारीहरुले पहल गर्नुपर्ने बताए । खेलुकद मन्त्रालयमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि उपाध्यक्ष पदमै रहेर विगतमा पनि चार वर्षे कार्यकाल पूरा गरिसकेका तिम्सिनाले भने, “मसँग लामो अनुभव छ । परिषद्मा गरेको कामका आधारमा फेरि एक–पटक जिम्मेवारी पाएको छु । म यहाँ उपाध्यक्ष हुनका लागि आएको होइन, जिम्मेवारी पूरा गर्न हो ।”

लामो समयदेखि खेलकुदका गतिविधिमा सक्रिय रहेकाले खेल क्षेत्रको विकासमा आफ्नो कार्यकाललाई स्वर्णीम बनाउने र खेलमा रहेको राजनीतिको विरोध गर्ने तिम्सिनाले बताए । उनले भने, “खेलकुद राजनीतिबाट ग्रसित छ । म आफ्नो कार्यअवधिमा राजनीतिबाट अलग हुनेछु ।”

प्रतिक्रिया दिनुहोस्