
२७ कार्तिक २०७५, झुम्का
छठ माता सेवा समिति रामधुनीले झुम्कामा १ सय २५ घाट निर्माण गर्दै छठ पुजाको तयारी गरेको छ । झुम्का स्थित सुनसरी मोरंग सिचाई नहरमा प्रत्येक बर्ष गरिने छठ पुजा गत साल भन्दा २० वटा घाट बृद्धि गर्दै तयारी गरेको समितिका अध्यक्ष धमेन्द्र साहले बताए ।
छठ पुजा गर्ने भक्तजनहरुको संख्या बढ्दै गईरहेकोले घाटको पनि माग बृद्धि भएको अध्यक्ष धमेन्द्र साहले बताए । विभिन्न भाषाभाषी र समुदायका मानिस एकै ठाउँमा बसेर सौहार्दपूर्ण वातावरणमा छठ पूजा गर्ने गरेका कारण नै यो पर्वले साझा पर्व र समावेशी पर्वका रुपमा पहिचान स्थापित समेत गरेको साहले बताए ।
झुम्कामा यस बर्ष छठ घाटमा ख्याति प्राप्त भजन कृतन समुहद्वारा भक्ति, भजन, संगीतमय बनाउँदै जाग्राम गर्ने तयारी रहेको कोषाध्यक्ष कमल साह रौनियारले बताए । रात्रिकालिन भजन किर्तन र छठ परिसरमा भिडभाड हुने भएकोले जिल्ला प्रहरी कार्यालय, नगरपालिका र ईलाका प्रहरी कार्यलयको समन्बयमा सुरक्षाको ब्यवस्थापन गरिएको कोषाध्यक्ष साहले जानकारी दिएका हुन् ।
छठका लागी आवश्यक पुजा सामाग्रीहरु बजारमा बिक्रि बढेको झुम्काका एक ब्यापारीले बताए । बिभिन्न समुदायका भक्तजनहरुले पुजा सामाग्रीहरु खरिद गरेको झुम्काका ब्यापारी सज्य साहले बताए । कोनिया, नाङ्गलो, टोकरी, उखु, नरिवल, दियो, बिशेष गरी बिक्रि भएको ब्यापारी साहले बताए ।
श्रद्धा, निष्ठा र लोक आस्थाको पर्व छठका ब्रतालुले सोमवार पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन आईतवार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले सोमवार पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हन् ।





