ला लिगा : सेल्टाको पोस्टमा मड्रिडको ४ गोल



२६ कार्तिक २०७५, काठमाडौं

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । मड्रिडलाई जित दिलाउनका लागि करीम बेन्जेमाले २३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले लुका मोड्रीचको पासलाई सदुपयोग गर्दै गोल गरे ।

पहिलो हाफ १–० को अग्रता लिएको मड्रिडले ५६ औं मिनेटमा अग्रता दोब्बर बनायो । बेन्जेमाको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्कंदा डिफेन्डर गुस्ताभो कब्राललाई लाग्दै गोलमा परिणत भयो । अग्रता दोब्बर बनाए लगत्तै सेल्टाले पनि एक गोल फर्कायो । ह्युगो माल्लोले उत्कृष्ट भली प्रहार गर्दै अग्रता १ गोलमा झारे । रियलका लागि कप्तान सर्जियो रामोसले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । इन्ज्युरी समयको पहिलो मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै रियललाई ४–१ को फराकिलो अग्रता दिलाए । ब्रेस मेन्डेजले अन्तिम मिनेटमा गोल फर्काउँदै ४२ गोल बनायो ।

रियलले सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेयता क्लबको यो लगातार चौथो जित हो । रियल अंक तालिकामा १२ खेलमा २० अंकसहित छैटौं स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाले १२ खेलमा २४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्