राष्ट्रिय पुरुष भलिबल लिगको चौंथो संस्करण आगामी पुसमा हुने



२५ कार्तिक २०७५, काठमाडौं

राष्ट्रिय पुरुष भलिबल लिगको चौंथो संस्करण आगामी पुसमा हुने भएको छ । पोखरा रंगशालमा हुने खेल रोबिन लिगको प्रणालीमा सम्पन्न हुने बताईएको छ । गत फाल्गुनमा सम्पन्न खेलको उत्कृष्ट ८ टोलीले सो खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

जसमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ तथा बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालीम केन्द्र, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब छन् । राष्ट्रिय महिला तथा पुरूष क्लब लिग भलिबललाई गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेपछि प्रतियोगिता आरबिबी–एनभिए राष्ट्रिय लिगको नाममा हुँदै आएको छ । राष्ट्रिय महिला लिग भलिबल प्रतियोगिता जेठमा सम्पन्न भए पनि पुरूष भलिबल टोली एशियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका कारण यस प्रतियोगिताको मिति सार्नुपरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । चन्दले प्रतियोगिता राउन्ड रोबिन लिगमा भए पनि विजेताको टुंगो लगाउने विषय टुंगो नलागेको बताए ।]

“प्रतियोगिताको लिग चरणमा प्राप्त गरेको अंकका आधारमा विजेता बनाउने कि शीर्ष स्थानमा रहने क्लबबीच फाइनल खेलाएर विजेता बनाउने भन्ने टुंगो लागेको छैन,” महासचिव चन्दले भने, “हाम्रो प्राविधिक समितिले त्यसबारे टुंगो लगाउनेछ ।” प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार तथा चौथो हुनेले २५ हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही ५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्