‘आईसीसी ट्वान्टी–ट्वान्टी’ एशिया छनौट समुह ‘बी’ को तयारी खेल पोखरामा हुने



२१ कार्तिक २०७५, काठमाडौं

नेपाली राष्ट्रिय टोलीको आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एशिया छनौट समुह बी को तयारी पोखरामा हुने भएको छ । पोखरा रंगशालामा रहेको क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको बनाउने चर्चा भइरहँदा रष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमटाले अबको पहिलो क्याम्प पोखरामा गर्न आईसीसीलाई प्रस्ताव राख्ने बताएका छन् ।

“यहाँ जुन विकेट र आउट फिल्ड छ त्यसैले यहाँ अभ्यास गर्ने वातावरण राम्रो छ । कन्डिस्नल फिटनेशको कुरा पनि यहाँ उपलब्ध छ,” प्रशिक्षक टमटाले भने “क्याम्प सम्भवतः जनवरी अथवा फेब्रुअरीमा हुन्छ । त्यसका लागि हामीले पोखरामा क्याम्प राख्नेबारे प्रस्ताव आईसीसीमा राख्ने योजना बनाएका छौं ।” प्रशिक्षक टमटाले अहिलेको मैदानको अवस्था यस्तै रहे पोखरामा अभ्यास गर्न समस्या नहरेको बताए । उनले टेन्ट राखेर अभ्यास खेल खेल्न सकिने बताए । ड्रेसिङ रुम बनाइदिएको अवस्थामा अझै सहज हुने उनको भनाइ छ ।

पोखराको पिचको प्रशंसा गर्दै उनले भने “खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण कुरा पिच हो । त्यो यहाँ राम्रो छ । त्यसले हामीलाई यहाँ अभ्यास गर्न सहज पनि हुुनेछ ।” ब्याटिङ फेवर रहेको पोखरा रंगशालामा अभ्यास गर्न पाए नेपालको ब्याटिङ सुध्रिने खेलाडीहरुको अपेक्षा छ । यससँगैं उनीहरुले खेलमा राम्रो गर्ने पनि आशा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्