पुर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद केही समयका लागि स्थगित



२१ कार्तिक २०७५, काठमाडौं

पुर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनाका लागि स्थगित गरिएको छ । आगामी मंसिर महिनादेखि प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।

अघिल्लो महीना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मंसिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

त्यस्तै आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) पनि छ महीना सार्ने प्रस्ताव गरेको जानकारीमा उल्लेख छ । आगामी सेप्टेम्बर महीनामा १३औँ साग आयोजना हुने छ । साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ । भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेल सार्ने निर्णय गरिएको हो । युवा तथा खेलकूदमन्त्री परिषद्को अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ ।

पूर्वाधारको सम्पूर्ण निर्माण कार्य माघ दोस्रो सातासम्म सक्ने गरी ठेकेदारलाई भनिसकिएको र आवश्यक बजेट पनि सरकारले उपलब्ध गराईसकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्