
२० कार्तिक २०७५, संखुवासभा
संखुवासभामा निर्माणाधिन रहेको बहुचर्चित अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । सोमबार संखुवासभा सदरमुकाम खाँदबारीमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री खतिवडाले अरुण तेस्रोको बारेमा तत्कालै रिभ्यू गर्ने बेला भइ नसकेको बताएका हुन् ।
अरुण तेस्रोको निर्माण कार्य चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसको बारेमा पुनरावलोकन गर्ने भन्दा पनि कार्यप्रगतिको आधारमा सरकारले सहयोग गर्नु पर्ने उनको भनाई छ । अहिलेको अवस्थामा अरुण तेस्रो प्रति सरकार सन्तुष्ट रहेको समेत मन्त्री खतिवडाले बताए ।
राष्ट्रिय गौरवको जलविद्युत्त आयोजना स्थलसम्म सडकको पहुँच राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरेको अर्थमन्त्री खतिवडाको भनाई थियो । उनले भने, ‘स्थानीय नागरिकको समेत पहुँच बढाउँदै लैजाने र जलविद्युत्तको आयोजना स्थलसम्म मध्य पहाडी लोकमार्गले छुवाएर लैजाने गरी नीति बनाएको स्मरण गर्दै त्यसबीचमा छिटो–छिटो सरकार परिवर्तन हुँदा कार्यान्वयन हुन नसकेको हो ।’
सडकले विद्युत्त आयोजनालाई मात्रै फाइदा पुग्ने भन्दा पनि स्थानीयबासीहरुले त्यो सडकको फाइदा लिन सक्नु पर्ने मन्त्री खतिवडाको भनाई थियो ।सडक पहुँचमा रहेको स्थानीयहरुले कृषि उत्पादन बढाउने, वनजन्य र प्राकृतिकजन्य वस्तुको उत्पादन बढाउने र यसलाई जतिसक्दो साधन स्रोतको उपयोग गरि फाइदा लिन सक्नु पर्ने उनको जोड थियो ।
अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजश्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको समेत मन्त्री खतिवडाले बताए ।





