नुवाकोटका चम्किला तारा : बासु भट्ट



१८ कार्तिक २०७५, काठमाडौँ

नुवाकोट जिल्लाको कल्याणपुर गाँउ विकास समिति अर्थात् हालको विदुर नगरपालिकामा जन्मिएका हुन्, बासु भट्ट । कक्षा ७ मा अध्ययन गर्दा नै २०४९ सालबाट तेक्वान्दो खेलमा आबद्ध भएका भट्ट तेक्वान्दोका चौथो डान प्राप्त राष्ट्रिय प्रशिक्षक हुन् ।

शिक्षा र खेल

कन्यादेवी प्राथामिक विद्यालयबाट औपचारिक अध्ययनको सुरुवात गरेका भट्टले श्री भूमीदेवी माध्यामिक विद्यालयबाट २०५४ सालमा एसएलसी उत्तीर्ण गरे । मध्यमवर्गीय परिवारमा जन्मिएका भट्टले त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालयबाट प्लसटु उत्तीर्ण गरेका छन् ।
उनी कक्षा सातमा अध्ययन गर्दा डेढ घण्टाको बाटो हिँडेर दलबहादुर तामाङसँग तेक्वान्दो प्रशिक्षण लिन जान्थे । उनले हाल विदुर नगरपालिका १३ का वडा अध्यक्ष रहेका दलबहादुर तामाङसँग लगभग एक वर्ष प्रशिक्षण लिए ।

तत्पश्चात उनले विदुर नगरपालिका वडा नम्बर ८ कोलनीमा डेढ वर्ष प्रशिक्षण लिए । एसएलसी पश्चात् २०५५ सालमा काठमाण्डौ प्रवेश गरेका भट्टले बालाजुको तरुण माध्यमिक विद्यालयमा प्रशिक्षण लिन थाले । सिनीयर खेलाडीको नाताले उनी त्यहाँ प्रशिक्षण दिन पनि दिन्थे ।प्रशिक्षण गर्ने गराउने क्रममा उनले केही खेलहरुमा सहभागिता पनि जनाएका थिए । भट्टले थुप्रै जिल्ला स्तरीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई उपाधी हात पारेका छन् । उनल २०१८ मा बेलारुसमा भएको वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागी भए ।

सफलता

भट्टले पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका छन् । त्यस्तै सन् २०११ मा भारतको जम्मु कश्मिरमा भएको प्रथम अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक हात पार्न सफल भए । काठमाण्डौमा भएको छैटौँ दक्षिण एसिया तथा अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् उनले ।

पाँचौ राष्ट्रिय खेलमा स्वर्णपदक हात पारेका भट्टले छैटौँ राष्ट्रिय खेलमा प्रशिक्षकको रुपमा मध्यमाञ्चललाई प्रथम बनाए ।‘२०१५ मा थाइल्याण्डमा भएको मिक्स मार्सल आर्टमा दुई खेलाडीलाई कास्यपदक दिलाउन सफल भएँ । त्यस्तै २०१७ मा चीनमा भएको पूर्वी साउथन इन्टरनेशनल चौँथो एशियाली ITF तेक्वान्दो च्याम्पियनसिपमा सहभागी चार जनामध्ये तीन जनालाई कास्यपदक दिलाउन सफल भएँ, उनले भने ।

उनले नेपालमा भएको दोस्रो, तथा तेस्रो र भारतको गोवामा भएको चौँथो दक्षिण एशियाली तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट कोचको भूमिका निर्वाह गरेका छन् । उनी सन् २०१५ मा बेष्ट कोच अफ दि इएरबाट पनि सम्मानित भएका छन् ।

आबद्धता

नेपाल तेक्वान्दो महासंघका कोषाध्यक्ष रहेका भट्ट जिल्ला खेलकुद विकास समिति नुवाकोेटका उपाध्यक्ष पनि हुन् । भट्ट नुवाकोट ITF का प्रमुख प्रशिक्षक, राष्ट्रिय कोच, राष्ट्रिय रेफ्री हुन् ।

भ्रमण
उनले भारत, चीन, थाइल्याण्ड, टर्की, नेदरल्याण्ड, मंगोलिया, बेलारुस आदि देशको भ्रमण गरेका छन् ।

उनी भन्छन्,  ‘२०६३ सालमा नुवाकोटमा ITF तेक्वान्दोको सुरुवात मैँले नै गरेको हुँ । हालसम्म ८० जना ब्ल्याक बेल्ट खेलाडी उत्पादन गरेको छु ।खेलकुदको विकासमा लागेका भट्टले नुवाकोटमा आफ्नै संयोजकत्वमा तीनवटा राष्ट्रिय प्रतियोगिता समेत सञ्चालन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्