‘स्वदेशी उद्योगको बिकास सरकारको मुख्य काम’ : अर्थमन्त्री खतिवडा



१७ कार्तिक २०७५, मोरङ

भन्सारको बिषयलाई लिएर सरकारको बिरोधमा रहेका कपडा उद्योगीको माग सम्बोधन गर्ने सरकारले सङ्केत गरेको छ । मोरङ ब्यापार संघको ६३ औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले कपडा उद्योग प्रवर्द्धनका लागि केही अनुदान सहित संरचना प्रयोग गर्न दिन सक्ने बताउँदै गार्मेन्ट, कपडा उद्योग र कपास खेतीको प्रोत्साहन गर्न सरकार लाग्ने बताए ।

औद्योगिक बस्तुमा नेपाल आत्मनिर्भर हुने योजनामा रहेको बताउदै खतिवडाले स्वदेशी उद्योगको बिकास गर्न कच्चा पदार्थ उत्पादनमा सरकारले जोड दिएको बताए । उत्पादन हुँदै गरेको कच्चा वस्तुको प्रशोधन गर्न सक्ने उद्योगको संरक्षण नै सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो । कुनै वस्तुको मूल्य सस्तो भएकै आधारमा आयात गर्ने क्रम बढेको देखिए सरकारले तत्काल भन्सार दर बढाउन सक्ने खतिवडाले बताए । कानुन अभावमा परिमाणात्मक बन्देज लगाउन नसकिने भए पनि भन्सार दर बढाएर अङ्कुश लगाउन सकिने उनको धारणा थियो ।

उनले निक्षेपकर्ता वा ऋणीको हित, स्वदेशी लगानी वा विदेशी लगानीको हित तथा आन्तरिक उद्योग प्रवर्द्धनकर्ता वा वस्तु आयातकर्ताको हित भन्ने विषय छुट्याउनुपर्नेमा जोड दिए । अर्थमन्त्री खतिवडाले सरकार निम्न आयस्तर भएका नागरिकको हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउँदै सबै खाले आर्थिक द्वन्द्व समाधानको बाटो पहिल्याउन लागि रहेको उल्लेख गरे ।

फरक प्रसंगमा मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे दाबी गरे ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरी सरकारले व्यवस्था गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्